काठमाडौँ । रैथाने एग्रि प्रडक्ट्स नेपालद्वारा काठमाडौँको दरबारमार्गस्थित ओरेन्ट क्याफेमा प्रत्येक शनिबार सञ्चालन हुँदै आएको रैथाने कृषि हाटबजारले आफ्नो १०० औं हप्ता पूरा गरेको छ ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीबाट नेपाल डेरी एसोसिएसनलाई सम्मान प्रदान गरिएको छ।
एसोसिएसनले प्रत्येक हप्ता हाट बजारमा नि:शुल्क मोही वितरण गर्दै मोहीको मौलिकता, बजारीकरण र प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
सम्मान नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले ग्रहण गरे। उनले कार्यक्रममा बोल्दै मोहीजस्ता मौलिक परिकारप्रतिको जनचेतना अभिवृद्धिमा एसोसिएसनले भविष्यमा पनि निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
दुई वर्षदेखि नियमित सञ्चालनमा रहेको रैथाने कृषि हाटबजारले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन र शहरका उपभोक्तासम्म सरल पहुँच पुर्याउँदै आएको छ। कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यसले स्थानीय उत्पादनको खपत बढाउने र कृषकलाई बजारसम्मको सीधा पहुँच दिन सफल भएको बताए।
त्यस्तै, नेपाल डेरी एसोसिएसन बागमती प्रदेश अध्यक्ष तथा मोही अभियन्ता टीका प्रसाद घिमिरेले राजधानीका उपभोक्तालाई स्थानीय र मौलिक उत्पादनहरूमाझ पहुँच पुर्याउन हाटबजारले महत्त्वपूर्ण भूमिका खेलेको बताए।
कार्यक्रमले स्थानीय उत्पादनको सम्मान, मौलिकता र बजार सञ्जालको सुदृढीकरणमा हाटबजार र सरोकारवालाहरुको साझा प्रयासको सफल उदाहरण प्रस्तुत गरेको छ।
प्रतिक्रिया दिनुहोस्