मन्त्रालयबाट हुने काममा कुनैपनि बहानामा कमजोरी भएको छैनः कृषिमन्त्री अधिकारी


काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयको कार्यसम्पादनमा कुनै बहानामा कमजोरी नरहेको दाबी गरेका छन् ।

आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै मन्त्री अधिकारीले मन्त्रालयबाट गरिने कुनैपनि कार्यमा विचार, नाम वा ढाँचाका आधारमा कमजोरी नरहेको बताएका हुन् ।

“कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट गरिने कुनैपनि कामका लागि यो वा त्यो नाममा, विचार वा ढाँचाको नाममा कमजोरी छैन, सुन्नु भएको पनि छैन होला,” उनले भने, “सबै बराबरी हुन्।”

मन्त्री अधिकारीले गरिबीसँग लडिरहेका र कुनै पेसा व्यवसाय नभएका किसानहरूलाई अगाडि बढाउनु मन्त्रालयको पहिलो प्राथमिकता भएको बताए । उनले भने, “गरिबी हटाउने र समृद्धि ल्याउने काम कहाँबाट गर्न सकिन्छ भन्ने सन्दर्भमा त्यस्ता किसानहरूलाई अगाडि बढाउनुपर्छ, त्यसपछि मात्रै व्यवसायीकरण र औद्योगिकीकरणमा जान सकिन्छ भन्ने सोच मन्त्रालयको हो।”

मन्त्रालयका गतिविधिलाई प्रभावकारी कार्यान्वयनमा लैजान र गल्ती भएमा सुधार गर्न संसदीय समिति र मन्त्रालयबिचको नियमित संवाद आवश्यक रहेको मन्त्री अधिकारीको भनाइ थियो।

बैठकमा मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले कृषि अनुदान प्रणालीलाई उत्पादनमुखी, पारदर्शी र अनुमानयोग्य बनाउन दुईवटा नयाँ कार्यविधि तयार पारिएको जानकारी दिए ।