बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनःस्थापना गर्न सांसद शाहको माग


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाहले बाजुराकोे बाम्का बजारमा भएको आगलागी पीडितलाई पुनस्र्थापना गर्न सरकारसँग माग गरेकी छिन्।

राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद शाहले बाम्का बजार आगलागीमा १३ पसल र २ वटा होटल पूर्णरुपमा नष्ट भएको जानकारी दिदै पीडित व्यापारीलाई राहत र क्षतिपूर्तिसहित छिटोभन्दा छिटो पुनःस्थापनाको माग राखेकी हुन् । सरकारले बाजुरालाई एउटा दमकलसमेत दिन नसक्दा यति ठूलो क्षति भएको भन्दै घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने र तत्काल क्षतिपूर्तिससिहत पुनःस्थापना गर्न माग गरिन् ।

“यही जेठ २३ गते बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको बाम्का बजारमा भिषण आगलागी हुँदा १३ पसल र २ वटा होटल सम्पूर्ण रुपमा नष्ट भएका छन् । ३४ वटा पसल र होटलमा क्षति भएको छ । आगलागीबाट १९ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण छ । यो दुःखद् घटनाप्रति दुःख व्यक्त गर्दछु, पीडितहरुप्रति सहानुभुति प्रकट गर्दछु,” उनले भनिन्, “पीडित व्यापारीहरुलाई राहत र क्षतिपूर्ति दिएर तुरुन्त पुनःस्थापना गर्न सरकारसँग जोडदार माग गर्दछु ।”

अर्बौं लगाएर भ्यू टावर बनाउने सरकारले बाजुरालाई एउटा दमकल दिन सकेन भन्दै उनले गुनासो गरेकी थिइन् । दमकल भएको भए सम्भवतः यति ठूलो क्षति हुने नहुने बताउदै क्षतिको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्छ भन्ने उनको अडान थियो ।