नेपाल विद्युत प्राधिकरण कठिन अवस्थामा छः हितेन्द्रदेव शाक्य


काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरण कठिन अवस्था रहेको बताएका छन् । 

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौँमा भएकाे कार्यक्रममा संस्था घाटामा गएर नभई कमजोर संरचनाका कारण सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न कठिनाइ भइरहेको उनले बताए ।

शाक्यकाअनुसार अहिले प्रशारण र वितरण प्रणालीले धान्न सकिरहेको छैन । कमजोर प्रशारण प्रणाली र वितरण प्रणालीले गर्दा प्राधिकरणलाई कठिन अवस्थामा पु¥याएको हो । शाक्यले विद्युत पूर्वाधारमा भएको लगानी कमजोर रहेको बताउँदै पर्याप्त लगानीको खाँचो रहेको बताए । उनकाअनुसार विगतमा जति लगानी भयो त्यसले पुगेन ।

३ हजार ५ सय मेगावाट हुँदा समस्या छ २८ हजार ५ सयको लक्ष्य पूरा गर्न खोज्दा के होला ? उनले प्रश्न गरे । शाक्यले आगामी दिनमा विद्युत पूर्वाधारमा लगानी नगरे उर्जा क्षेत्र नै समस्यामा फस्ने खतरा रहेको संकेत गरेका छन् । उर्जा क्षेत्रका लागि भएपनि विद्युत प्राधिकरणलाई बचाइराख्नुपर्ने बताउँदै उनले विद्युत प्राधिकरण खण्डिकरण हुने हो भने उर्जा क्षेत्रको भविष्य नै धरापमा पर्ने खतरा रहेको बताए ।

शाक्यकाअनुसार विद्युत प्राधिकरण नीजि क्षेत्रको मेरुदण्ड हो । कम्तिमा १० हजार मेगावाट नभएसम्म विद्युत प्राधिकरणलाई सबलीकरण गर्नुपर्छ ।

नेपाल अल्पविकासशिल मुलुकबाट विकशिल मुलुकमा जाँदै गर्दा सस्तो व्याजदरमा ऋण पाउन समेत कठिन हुने अवस्था रहेकाले प्रशारण लाइनदेखि वितरण लाइन बनाउन चुनौति रहेको छ ।

वैदेशिक सहयोग नआउने हो भने विद्युत प्राधिकरण एक्लैले यो क्षेत्रलाई धान्न सक्दैन । यसमा निजी क्षेत्रले समेत विद्युत प्राधिकरणलाई सघाउनुपर्ने शाक्यले बताए । शाक्यले व्यक्तिगत स्वार्थ छाडेर प्राधिकरणलाई अघि बढाउन चाहेको समेत जिकिर गरे । उनले सबैलाई साथ दिन समेत आग्रह गरेका छन् ।