प्रकाशमानको प्रश्नः पटक—पटक परीक्षणमा पास भएकामाथि त प्रश्न छ, नयाँले के गर्न सक्छन् ?


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरुले केही पनि गर्न नसक्ने बताएका छन् । 

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न चरणका परीक्षणहरुमा पास भएर आएका पुराना राजनीतिक दलहरुलाई जनताले अहिले पनि प्रश्न गरिरहेको भन्दै नयाँ र परीक्षण नै नभएका राजनीतिक दलहरुले केही गर्न नसक्ने बताएका हुन् ।

उनले नेपाली काँग्रेस जनताबाट पटक पटक परीक्षण भएर आएको पार्टी रहेको बताए । उनीहरुले भनेको मात्रै कुरा मान्दै जाने हो भने देश कहाँ पुग्छ ? भन्दै उनले प्रश्न गरे । जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरुबाट केही हुन्छ भनेर आश गरेर पछि लाग्नु तर्कसंगत नहुने उनको भनाइ छ । काँग्रेस पार्टीका भ्रातृ संगठन, नेपाली काँग्रेस पार्टीका शुभेच्छुक संघसंस्थाहरु बलियो भएको खण्डमा मात्रै सन्तोषको शास फेर्न सकिने उनले बताए ।


उपप्रधानमन्त्री सिंहले सबैको कुरा सुन्नुपर्ने तर जनतालाई हित हुने र जनताले चाहेको कुरा गर्नुपर्ने बताउनु भयो । जनतालाई दीर्घकालीन फाइदा हुने कुरामा अघि बढ्न जरुरी रहेको उनले उल्लेख गरे ।