काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको टिप्पणी गरेका छन्र ।
बिहीवार काठमाडौंमा समाजवादी दर्शनको रुपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनवादी क्रान्तिको क्रममा माक्सवादको प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिएको बताए ।
अहिले समितिको प्रतिवेदनउपर भइरहेको छेडखानी त्यस्तै रहेको जिकिर गर्दै प्रचण्डले निजामती विधेयकमा कुलिङ पिरियडबारे बोल्दै उहाँले देखाउँदा खसीको टाउको देखाइएको तर बेच्दा कुकुरको मासु बेचेको जस्तो रहेको टिप्पणी गरे ।
उनले भने, ‘अहिले तपाईं हामी हे¥यौँ भने संविधानमा निर्दिष्ट गरेका मुलभुत मान्यतालाई इमान्दारिताका साथ प्रयोग गर्ने एउटा विचार, एउटा प्रवृत्ति छ भने अर्को संविधानमा भएका सबै सकारात्मक, प्रगतिशिल र लोकप्रिय चिज उल्ट्याउने र त्यसलाई यही प्रतिक्रियावादी अनुकुल बनाउने कसरत वा लडाईं चलिरहेको छ ।’
आफू सरकारमा रहँदा आफू प्रत्येक पटक समाजवादतर्फ नै लैजाने बल गरेको दाबी गर्दै अध्यक्ष दाहालले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भएको बताए । नेपाली समाज अब समाजवादी क्रान्तिको चरणमा पुगेको बताउँदै समाजवादको जग बसाल्न कम्युनिष्टहरुले नै सुरु गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्