काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धित कान्तिपुर सिटी कलेज (केसीसी) ले बीबीए संकायका विद्यार्थीहरूद्वारा तयार पारिएको ‘म्यानेजमेन्ट स्कोलर्स म्यागजिन’ को १०औं संस्करण सार्वजनिक गरेको छ। शनिवार केसीसी कलेज हलमा आयोजित एक समारोहमा उक्त म्यागेजिन औपचारिक रूपमा विमोचन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व महासंघ अध्यक्ष भवानी राणा, प्राध्यापक रामा कृष्ण रेग्मी, प्रा. डा. महेन्द्र सिंह, म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्र कुमार श्रेष्ठ, केसीसीका प्रबन्ध निर्देशक डा.प्रल्हाद कार्की र प्रिन्सिपल राजु कट्टेलले संयुक्त रूपमा म्यागजिनकाे विमोचन गरेका थिए ।
विमोचन समारोहमा प्रमुख अतिथि राणाले विद्यार्थीहरूले तयार पारेको म्यागजिनले नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्। प्रा. डा. महेन्द्र सिंहले म्यागेजिनले विद्यार्थीहरूको रचनात्मकता तथा ज्ञानको दायरा फराकिलो बनाएको उल्लेख गरे। महासचिव श्रेष्ठ र निर्देशक डा.कार्कीले म्यागेजिन निरन्तर प्रकाशन हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्दै यसले विद्यार्थीहरूमा नयाँ सीप विकास गरिरहेको बताए।
कार्यक्रममा वक्ताहरूले कक्षा भित्र सिकिएको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अभ्यासमा म्यागजिनले ठूलो सहयोग गरेको बताए। प्रा. रेग्मीले म्यागजिनले विद्यार्थीहरूको करियर निर्माणमा मद्दत गर्ने विश्वास व्यक्त गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमा पूर्ण निर्भर नरहुन सुझाव दिए। उनले भने, “एआईले मानवीय सीप कमजोर बनाउने सम्भावना हुन्छ, त्यसैले बुद्धिमानीपूर्वक यसको प्रयोग गर्नुपर्छ।”
यस वर्षको म्यागजिनले “पर्यटन र एआई” विषयवस्तुलाई विशेष प्राथमिकता दिएको छ। यसमा शिक्षा क्षेत्रमा एआईको प्रयोग, व्यापार, तथा रोजगारीसम्बन्धी आवश्यक सीपहरूबारे समेत समेटिएको छ।
कार्यक्रममा कलेजका प्रिन्सिपल राजु कट्टेलले विद्यार्थीहरूको ‘सफ्ट स्किल्स’ विकासमा कलेज निरन्तर सक्रिय रहेको र म्यागेजिन प्रकाशनलाई निरन्तरता दिइने जानकारी दिए।
सन् २००५ देखि बीबीए कार्यक्रम सञ्चालन गर्दै आएको केसीसी देशकै अग्रणी व्यवस्थापन शिक्षण संस्थामध्ये एक मानिन्छ। कार्यक्रममा विद्यार्थी, शिक्षक, प्राध्यापक र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्