काठमाडौं । कुलिङ अफ पिरियड’मा गरिएको किर्ते छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठक आज दिउँसो बस्ने भएको छ । समितिको पहिलो बैठक नयाँ बानेश्वर स्थित संसद भवनको शंकर हलमा बस्ने तय भएको समितिका सदस्य ईश्वरी घर्तिले बताइन् ।
राज्य व्यवस्था तथा सुशसान समितिबाट सर्वसम्मत पास गरिँदा संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा चलखेल गरेर ‘बाहेक’ शब्द घुसाएपछि विवाद चर्किएको छ ।
उक्त विषयमा राज्य व्यवस्था समितिका सभापति र सचिव मुख्य दोषी रहेको भन्दै सत्ता पक्ष तथा विपक्षी दलले राजीनामा माग गरेपछि छानविन समिति गठन गरिएको हो ।
संघीय निजामती सेवा विधेयकमा राखिएको ुकुलिङ अफ पिरियडुसम्बन्धी प्रावधानमा ‘बाहेक’ शब्द घुसाइएको पाइएपछि छानबिनका लागि सभामुख देवराज घिमिरेले सात सदस्यीय समिति गठन गरेका छन्।
जसमा नेपाली कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन्।
तर प्रतिनिधि सभाबाट पास गरिसकेपछि विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रावधान नै निष्क्रिय पार्ने ‘बाहेक’ शब्द राखिएको पाइएपछि विवाद भइरहेको हो।
प्रतिक्रिया दिनुहोस्