काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपाल तथा भुटानका लागि संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का प्रतिनिधि केन सिमिजुबिचबिच आज भेटवार्ता भएको छ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन भएका परियोजनाहरूमा एफएओले दिएको सहयोगप्रति आभार व्यक्त गरेका हुन् । भेटका क्रममा उनले मध्यपहाडी जिल्लामा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्रको प्रवर्धन गर्ने, उच्च मूल्यका फलफूलको उत्पादन, बजारीकरण तथा व्यवस्थापनका क्षेत्रमा थप सहयोग गर्न आग्रह गरे।
मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तन र त्यसले पारेको असरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कोशी प्रदेशको भौगोलिक बनावट-हिमाल, पहाड र तराई सहितको जैविक विविधता र प्राकृतिक स्रोतसाधनको संरक्षण र उपयोगमा सहकार्यको आवश्यकता औंल्याए।
मुख्यमन्त्री कार्कीले आगामी विश्व रामसार दिवसको अवसर पारेर जलवायु परिवर्तनका असरबारे सम्मेलन आयोजना गर्ने तयारी भइरहेको जानकारीसमेत दिए।
एफएओका प्रतिनिधि सिमिजुबिचले आफूहरू प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न इच्छुक रहेको बताउँदै कोशी प्रदेशमै सम्पर्क कार्यालय स्थापना गरेर थप प्रभावकारी रूपमा अघि बढ्ने योजना सुनाए। उनले कृषि, जलवायु, जैविक विविधता र माटो संरक्षण जस्ता क्षेत्रमा एफएओले कोशी प्रदेशमा सहकार्यका साथ काम गरिरहेको बताए।
उनका अनुसार चुरे क्षेत्रको वातावरणीय प्रभाव न्यूनीकरण, जैविक विविधताको संरक्षण, तथा माटो व्यवस्थापनलगायतका विषयमा आगामी दिनमा अझ सशक्त रूपमा काम अघि बढाइनेछ।
प्रतिक्रिया दिनुहोस्