रसुवाको बाढीपहिरोबाट २८ करोड ९२ लाख बिमा दाबी, सबैभन्दा बढी शिखर इन्स्योरेन्समा


काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर २ स्थित रसुवागढीमा आएको बाढीका कारण भएको क्षतिको बिमा दाबी २९ करोड रुपैयाँ बराबर पुगेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार साउन १ गतेसम्म ९ ओटा निर्जीवन बिमकहरूबाट प्राप्त क्षतिपूर्ती दाबी विवरण अनुसार कुल २८ करोड ९२ लाख ६० हजार रूपैयाँ बराबरको बिमा दाबी परेको छ ।

जसमा सर्वाधिक दाबी शिखर इन्स्योरेन्स कम्पनीमा परेको छ। कम्पनीमा १० ओटा दाबी दर्ता भइ कुल १६ करोड १२ लाख १० हजार रुपैयाँको दाबी भएको छ। दोस्रो धेरै दाबी नेको इन्स्योरेन्समा ५ करोड १२ लाख रुपैयाँ बराबरको ३ ओटा दाबी परेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७ ओटा दाबी दर्ता भइ ३ करोड ४१ लाख ५० हजार रुपैयाँको दाबी दर्ता भएको छ।

त्यस्तै नेपाल इन्स्योरेन्समा १२ ओटा दाबी मार्फत १ करोड २८ लाख ५० हजार रुपैयाँ, आइजिआइ प्रुडेन्सियलमा ९ ओटा दाबीमार्फत ७५ लाख ५० हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ ओटा दाबीबाट ६८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ ओटा दाबीबाट ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरमा ७ ओटा दाबीबाट ३१ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ।

बिमालेखको प्रकारअनुसार हेर्दा सबैभन्दा धेरै दाबी सामुद्रिक बिमा अन्तर्गत परेको छ। ६ ओटा सामुद्रिक बिमालेख अन्तर्गत १५ करोड ७० लाख १० हजार रुपैयाँ बराबरको दाबी परेको छ।

त्यस्तै इन्जिनियरिङ तथा ठेकेदार जोखिम अन्तर्गत ४ ओटा दाबीमा ५ करोड ५५ लाख रुपैयाँ, सम्पत्ति बिमा अन्तर्गत १० ओटा दाबीमा ४ करोड १८ लाख ५० हजार रुपैयाँ बराबरको दाबी परेको छ।

मोटर बिमा तर्फ ३२ ओटा सार्वजनिक सवारीका बिमाबाट २ करोड ३१ लाख ५० हजार रुपैयाँ र ११ ओटा निजी सवारीका दाबीबाट १ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दाबी विवरण प्रारम्भिक रहेको र समयक्रममा थप विवरण आउन सक्ने जनाएको छ।