अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर


काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा विशेष अदालतमा १३७ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। ती मुद्दामा ७५३ जना प्रतिवादी बनाई ५ अर्ब ९७ करोड ७३ लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

दायर मुद्दामध्ये ३७ वटा घुसररिसवतसँग सम्बन्धित रहेका छन् भने ३६ वटा गैरकानुनी लाभ वा हानी, २७ वटा झुट्टा शैक्षिक प्रमाणपत्र, २३ वटा सार्वजनिक सम्पत्तिमा क्षति, ८ वटा गैरकानुनी सम्पत्ति आर्जन, २ वटा सम्पत्ति शुद्धीकरणसम्बन्धी र ४ वटा विविध विषयसँग सम्बन्धित रहेका छन्। रंगेहात पक्राउ अन्तर्गत २२ वटा कारबाहीमा ३३ जना नियन्त्रणमा लिइएका थिए र उनीहरूबाट ५५ लाख १० हजार रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा आयोगमा विभिन्न माध्यमबाट २८ हजार ५९७ वटा उजुरी दर्ता भएका थिए भने अघिल्लो वर्षबाट सरेका ८ हजार ४२९ उजुरीसहित ३७ हजार २६ उजुरी कारबाहीको दायरामा थिए। तीमध्ये २९ हजार ७०३ उजुरी छानबिन तथा अनुसन्धानबाट फर्छ्यौट गरिएको छ भने बाँकी ७ हजार ३२३ उजुरी आगामी वर्षमा जिम्मेवारी सरेको आयोगले जनाएको छ।

उजुरीहरू आयोगको वेबसाइट, लिखित निवेदन, इमेल, हुलाक सेवा, टेलिफोन, सामाजिक सञ्जाल, राष्ट्रिय सतर्कता केन्द्र, हेलो सरकार लगायतका माध्यमबाट प्राप्त भएका थिए। सबैभन्दा धेरै उजुरी आयोगको वेबसाइटमार्फत आएका थिए, जसको संख्या १० हजार २४५ रहेको छ।

विशेष अदालतबाट चालु आर्थिक वर्षमा ११९ वटा मुद्दामा फैसला भएकोमा ६७.२३ प्रतिशतमा कसुर प्रमाणित भएको छ। सो अवधिमा विशेष अदालतबाट अघिल्ला वर्षका समेत गरी कुल ३९५ वटा मुद्दामा फैसला भएको हो।

समिक्षा कार्यक्रममा प्रमुख आयुक्त राईसहित आयोगका पदाधिकारीहरूले प्रस्तुत वार्षिक प्रगतिप्रति टिप्पणी गर्दै उजुरी व्यवस्थापन, अनुसन्धान, अभियोजनलाई थप प्रभावकारी बनाउँदै भ्रष्टाचार नियन्त्रणमा पाँचौँ रणनीतिक योजना सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, कानुनी र नीतिगत सुधारमार्फत कार्यसम्पादन अझ प्रभावकारी बनाइने बताइएको छ।