काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताएका छन्।
सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उनले बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको उल्लेख गरे।
आमाको नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट समेत सरकारको निर्देशकात्मक आदेशका आधारमा सरकारले विधेयक अगाडि बढाएको बताए । आमाको नामबाट नागरिकता दिँदा आमाले स्वघोषणा गरे मात्रै पनि हुने उनको भनाइ छ । विदेशमा सन्तान जन्मिने वा गर्भावस्थामा आमा स्वदेश फर्किने तर बुबाको पत्ता नलागेको अवस्थामा आमा र सन्तानको अधिकार सुनिश्चित गर्न आमाको स्वघोषणाको आधारमा अंगिकृत नागरिकता दिने व्यवस्था गरिएको लेखकले बताए।
“अहिले हामीले आमाको नामबाट नागरिकता पाउने कुरालाई सरलिकृत गरेका छौं । बुबाको मृत्यु भएको वा जीवितै हुँदा पनि नागरिकता प्राप्तिका लागि सहयोग गर्नुभएको छैन भने आमाकै नामबाट नागरिकता दिने व्यवस्था हामीले व्यवस्था गरेका छौं,” उनले भने, “बुबा बेपत्ता हुनुहुन्छ वा उहाँले अर्को विवाह गरेर जानुभएको छ भने सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था गरिएको हो । बुबाले आफ्ना सन्तानलाई अपनत्व नगरेको र आवश्यक स्नेह दिएको छैन भने बाबुलाई बाबु मान्नै पर्छ भन्ने हुदैन ।”
सन्तानले आमा नामबाट नागरिकता लिँदा बुबा नाम राख्न नचाहेको अवस्थामा समेत नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्