काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी आगामी मंसिर १२ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने भएको छ ।
‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने यो प्रदर्शनीमा करिब २० मुलुकका १५० भन्दा बढी प्रदर्शनीकर्ताले २०० भन्दा बढी स्टलमार्फत २ हजारभन्दा बढी प्रकारका आधुनिक कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधिहरू प्रस्तुत गर्ने जनाइएको छ । प्रदर्शनी हेर्नका लागि प्रवेश निःशुल्क हुनेछ ।
नेपालमा कृषि यान्त्रिकरण प्रवर्धन गर्ने उद्देश्यले विसं२०७० सालमा चितवनबाट सुरू गरिएको यो प्रदर्शनी हालसम्म पाँच पटक राष्ट्रिय, एक पटक प्रादेशिक र एक पटक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सम्पन्न भइसकेको छ । यस वर्षको प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायिक तरकारी खेती, सिँचाइ, पोष्ट हार्भेष्ट, प्रशोधन तथा बजारीकरणसम्बन्धी नवीनतम यन्त्र, उपकरण तथा प्रविधिका साथै बीउबिजनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादक र विक्रेताहरू सहभागी हुने आयाेजकले जनाएकाे छ ।
आयोजकले प्रदर्शनीले कृषकलाई आधुनिक कृषि यन्त्र र प्रविधि सम्बन्धी जानकारी दिने, कृषि प्रणालीको आधुनिकीकरण र व्यवसायीकरणलाई टेवा पुर्याउने तथा नीति निर्माता, व्यवसायी, अनुसन्धानकर्ता, विद्यार्थी र कृषकबीच समन्वय गर्ने अपेक्षा राखेका छन् । साथै प्रदर्शनीमार्फत कृषक, सहकारी संस्था, बैंक तथा वित्तीय संस्था लगायत सरोकारवालाबिच सहकार्यको वातावरण सृजना हुने विश्वास आयोजकको छ ।
प्रदर्शनीमा नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ भने स्टल बुकिङका लागि भाद्र ४ गते (भाेलि)देखि खुला गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्