असोज १ देखि इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य


काठमाडौँ । अब असोज १ गतेदेखि सवारीसाधन दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ।

यातायात व्यवस्था विभागले सार्वजनिक गरेको सूचनाअनुसार गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले उक्त निर्णय गरेको हो।

विभागले सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयमार्फत् सवारीसाधनमा हाइ सेकुरेटि इम्बाेस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको जनाएको छ। “२०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण कार्य गर्दा इम्बोस्ड नम्बर प्लेट जडान नगरेसम्म प्रक्रिया अघि बढ्ने छैन,”विभागले जारी गरेको सूचनामा भनिएको छ ।

यससँगै सवारीधनीहरूलाई सम्बन्धित यातायात कार्यालयमा गई यथाशीघ्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले आग्रह गरेको छ।