उखुको अनुदान भुक्तानी माग गर्दै किसानको आन्दोलन जारी


काठमाडाैँ । उखुको अनुदान भुक्तानीको माग राखी आन्दोलनमा उत्रेका उखु किसानले आन्दोलन जारी राखेका छन् । किसानले काठमाडौँको माईतीघरमा आइतबारदेखि शुरु गरेको आन्दोलनलाई बुधवार पनि निरन्तरता दिएका हुन् ।

उखु उत्पादन महासंघ नेपालका अध्यक्ष श्यामबाबु रायले आर्थिक वर्ष २०८१/२०८२ मा सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान भुक्तानी पाउनुपर्ने आफुहरुको मुख्य माग रहेको बताए ।

उनकाअनुसार गतवर्ष सरकारले उखुको मूल्य प्रतिक्वीन्टल ६ सय ५५ रुपैयाँ तोकेको थियो । उक्त रकममध्ये उद्योगले ५ सय ८५ रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान किसानलाई दिनुपर्नेछ । तर सरकारले ७० रुपैयाँ अनुदान नदिएको अध्यक्ष रायले बताए ।

सरकारले आर्थिक अभाव देखाएर उखु किसानको अनुदानलाई आधा कटौती गरेको छ । प्रतिक्वीन्टल ३५ रुपैयाँले किसानलाई अनुदान उपलब्ध गराउनेगरी अर्थ मन्त्रालयले मंगलवार ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा गरेको छ । तर सो रकममा किसानले चित्त बुझाएका छैनन् ।

अध्यक्ष रायले ७० रुपैयाँका दरले हुन आउने एक अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान निकासा गर्न सरकारसँग माग गरे । किसानले पाउने अनुदानको रकम घटाउनेगरी सरकारसँग वार्तामा आफूहरु नबस्ने पनि अध्यक्ष रायले बताए । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मंगलवार कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंहको नेतृत्वमा उखु किसानसँग वार्ता गर्नको लागि समिति गठन गरेका छन् ।

उखु उत्पादन महासंघका अध्यक्ष रायले भने, “हाम्रो माग अहिलेका लागी उखुको अनुदान ७० रुपैयाँमा हो । नेपाल सरकारले हाम्रो गत वर्ष २०८१/०८२ को नेपाल सरकारले तय गरेको ६ सय ५५ रुपैयाँ उखुको मूल्यमध्ये उद्योगले ५ सय ८५ रुपैयाँ र नेपाल सरकारले ७० रुपैयाँ दिने भनेको अनुदान रकम अहिलेसम्म नपाएर हामीले ७० रुपैयाँ अनुदान रकमको लागि मुख्य हाम्रो आन्दोलन हो । अहिले हाम्रो चौथो दिन हो आन्दोलन ।”

कृषिमन्त्रालयको सहसचिवको अध्यक्षतामा एउटा वार्ता समिति गठन भएको उनले उल्लेख गरे ।

“मैले पनि हिजो साँझ थाहा पाए, एकछिन बोलाउनु भयो । कार्यविधिहरुको बारेमा जानकारी गराउनु भयो । मैले भने हाम्रो ७० रुपैयाँ पाउँछ कि पाउँदैन । उहाँले भन्नुभयो, अहिले ३५ रुपैयाँका दरले ७५ करोड रुपैयाँ हामीले निकासा गरेको हो । मलै ७५ करोड रुपैयाँले हामीलाई चित्त बुझदैन, हाम्रो ७० रुपैयाँले हुन जान्छ एक अर्ब ६० करोड त्यसको कुरा गर्नुस्,” उनले भने, “त्यसको बारेमा छलफलमा बोलाउनुहुन्छ भने हामी आउनको लागी तयारी हो । हाम्रो मुल्उ आन्दोलन पनि यही हो । हामीले यो आन्दोलन ७ दिनको लागी भनेर आएको हो, ८ गतेबाट १५ गतेसम्म हो । १५ गतेसम्म राज्यले सुनेन भने फेरी हाम्रो महासंघको बैठक बसेर पुन अर्को चरणको आन्दोलन र कार्यक्रम तय गर्नेछौँ ।”

उखु किसानले ‘उखु किसानको अनुदान कटौती गर्न पाइँदैन’, ‘उखु कृषक शोषण बन्द गर’, ‘किसानसँग भएका सम्झौता लागू गर’ लगायत माग लेखिएको प्लेकार्ड बोकेका प्रदर्शन गरेका छन् । नेपाल उखु उत्पादक महासंघको नेतृत्वमा किसाहरु सडक आन्दोलनमा होमिएका हुन् ।

उखु किसानको आन्दोलन भदौ १५ गतेसम्म चल्ने उखु उत्पादन महासंघका अध्यक्ष रायले बताउनु भयो । उक्त बेलासम्म पनि सरकारले आफ्नो माग पूरा नगरे दोस्रो चरणको आन्दोलन घोषणा गर्ने अध्यक्ष रायले जानकारी दिनुभयो ।