काठमाडौँ । काठमाडौँ उपत्यकाको ‘ल एन्ड अर्डर’ काबु बाहिर पुगेको छ ।
जेनजी प्रर्दशनकारीले राष्ट्रपतिको निजी निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास,प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास, नेपाली कांग्रेसको पार्टी कार्यालय, विभिन्न राजनीतिक दलका नेताहरूको निवासमा आगजनी र तोडफोड भएको छ ।
हिजो १९ जनाभन्दा बढीको ज्यान गएपछि आज प्रर्दशनकारीले राजनीतिक दलका नेताको निवासमा आक्रमण गरेका छन् ।
सबै शिर्ष दलका नेताको निवास लगायतका क्षेत्रमा आक्रमण हुँदा समेत सरकार निरिहजस्तै बनेको छ । सुरक्षा विज्ञहरुका अनुसार यो पुरै ल एन्ड अडर काबु बाहिरको अवस्था हो ।
आक्रमणकारीले चारैतर्फ तोडफोड र आगजनी गर्दा पनि सरकारको बलियो उपस्थिति देखिएको छैन । सुरक्षा क्षेत्रका जानकारहरूका अनुसार परिस्थिति प्रहरीको हातबाट बाहिर गइसकेको छ ।
एक सुरक्षा विज्ञले भने अब अवस्था प्रहरीको नियन्त्रणमा छैन । यति बेला प्रहरी समेत नेतृत्वविहीनको अवस्था छ । गृह मन्त्री रमेश लेखकले राजीनामाको घोषणा गरिसकेका छन् । गृहप्रशासनको राजनीतिक नेतृत्व नभएको अवस्थामा प्रहरीको नेतृत्व समेत कमजोर देखिएको छ ।
आइजिपी चन्द्रकुबेर खापुङ्ले पनि केही दिन अघि मात्रै नेतृत्व सम्हालेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आन्दोलनलाई हल्का रुपमा लिएका थिए । विश्वस्त स्रोतका अनुसार हिजो जेनजीको आन्दोलनको विषयमा प्रहरीको ब्रिफिङलाई वेवास्था गरेका थिए ।
आन्दोलनले उग्र रुप लिएर सेनाले थप रिपोर्टिङ गरेपछि मात्रै प्रधानमन्त्री झस्किएका थिए । गृहमन्त्री रमेश लेखक समेत संसदीय समितिमा थिए ।
आन्दोलनकारीले काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा राजनीतिक दलका नेताको घरलाई निशाना बनाउँदा समेत प्रहरी प्रशासन निरिह देखिएको छ ।
स्थानीय प्रशासनले विभिन्न ठाउँमा कफ्र्यू जारी गरेपनि प्रदशनकारीले त्यसको उल्लङ्न गरेर तोडफोडमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्