काठमाडाैं । जेनजी आन्दोलका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नभएको निजी क्षेत्रले बताएको छ ।
मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखि सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ, निर्माण व्यवसायी महासंघ, होटल संघ नेपाल (हान), इप्पान लगायतका संस्थाहरुले अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति अब सम्वेदनशील हुन जरुरी छ । मुलुकमा थप निराशा र अशान्तिको वातावरण कही कतैबाट पनि सिर्जना हुन नहुने र शान्तिपूर्ण आन्दोलन, त्यसक्रममा अनावश्यक बल प्रयोग नहुनेतर्फ पनि महासंघ संवद्ध सबैको ध्यानाकर्षण गराएको छ ।
निर्माण व्यवसायी महासंघले पनि मुलुक विषम परिस्थितिबाट अघि बढ्नुपर्ने स्थिति आएको बताएको छ । महासंघका अध्यक्ष रवि सिंहकाअनुसार मुलुक विषम परिस्थीतिबाट अघि बढ्नुपर्ने स्थीति छ । नयाँ कोर्सका लागि जेन जी पुस्ताले गरेको जुन योगदान छ, यसबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै सुशासनयुक्त र भ्रष्टाचार मुक्त समाजको सिजना गरिनुपर्ने सिंहले बताए ।
होटल संघ नेपालले देशभर जारी निषेधाज्ञा र विमानस्थल बन्दका कारण पर्यटकको भ्रमण प्रभावित भएको भन्दै आवागमन सहज बनाउन सम्बन्धित निकायलाई तत्काल पहल गर्न आह्वान गरेको छ ।
संवैधानिक निकाय तथा राज्यका कार्यहरु सिमित व्यक्तिकै स्वार्थमा निहित रहेर भ्रष्टाचार, कुशासन, भ्रष्ट नियुक्ति र पूर्वाधार प्रभावित पार्ने कामले युवाहरूमा चरम निराशा निम्त्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ठहर गरेको छ । इप्पाले युवाहरुमाथि भएको दमनको स्वतन्त्र र निष्पक्ष छानबिन समितिमार्फत छानविन हुनुपर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्