काठमाडाैँ । जेन–जी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा मुलुकको उद्योग तथा व्यवसाय ध्वस्त भएको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् ।
मुलकमा भ्रष्टाचार नियन्त्रण गर्ने जेन–जी पुस्ताको माग जायज भएपनि आन्दोलनमा राजनीतिक दलहरुको घुसपैठले निजी व्यवसायीहरुले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै व्यवसायीहरु चिन्तित बनेका हुन् ।
आन्दोलनको क्रममा लुटिएका तथा आगजनीमा परेका सामानहरुको क्षतिपूर्ति कसले दिने भन्ने चिन्ता व्यवसायीमा छ । न्युरोडका कपडा व्यवसायीहरुले दशैंको मुखमा व्यवसाय सखाप भएको तथा नयाँ सामान ल्याउन भन्सारले नदिने भन्दै आफूहरु निकै पीडामा परेको बताए । राज्य संरचना समेत ध्यवस्त भएको कारण सरकारलाई भन्ने अवस्था समेत नरहेको कारण आफूहरुमा अन्योलता बढेको एक व्यवसायीको भनाइ छ ।
व्यवसायीहरू भन्छन्, “जेन–जीहरुको भ्रष्टाचार नियन्त्रण गर्ने मागहरु जायज थियो । तर त्यसमा राजनीतिक दलहरुको घुसपैठ धेरै भए । त्यसकारण हामी व्यवसायीहरुलाई ठूलै धक्का परेको छ । अब यो सरकारले गर्छ कि कसले गर्छ हामीलाई बुझिदिनुपर्छ । दशै नजिक आइसकेको छ । यो समयमा हामी एकदमै पीडामा छौं । बाहिरबाट ल्याउन लागेको सामान पनि नाकामा बगाइदियो । अब अहिले सामान ल्याउनको लागि भन्सार बन्द छ । राज्यको संरचना पनि ध्वस्त छ ।”
जेन–जी पुस्ताको मागअनुसार अन्तरिम सरकार गठन गरेर मुलुकलाई दिशामा अगाडि लैजानुपर्ने उनीहरुको माग छ । संपिवधानको आवश्यक पुनरावलोकन गरेर प्रत्यक्ष कार्यकारीमा जाने व्यवस्था गर्नुपर्ने अर्का कपडा व्यवसायीको माग छ ।
उनले भने, “अहिले सर्वसाधारणले पनि दुःख पाएको अवस्था छ । संकटा क्लबका साथिहरुको कारण हाम्रो त्यति धेरै क्षति हुन पाएन । अहिले जेनजीहरुलाई मेरो सुझाव छ, निर्णय छिटो लिनुस् । देशलाई अगाडि बढाउनतिर लाग्नुस् । संविधानअनुसार अघि बढ्दा प्रत्यक्ष कार्यकारीको विषय कँही पनि उल्लेख गरिएको छैन । त्यो पनि विचार गर्नुहोस् । समयमै अन्तरिम सरकार बन्यो भने हामी व्यवसायी र मध्यम परिवारका मानिसहरुलाई राहत मिल्थ्यो कि भन्ने हो त्यत्ति हो ।”
भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलन करिव ४८ घण्टा चल्दा करिव ३ दर्जन व्यक्तिको मृत्यु तथा सिंहदरबार लगायत राज्यका भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्