जेन जी आन्दोलनका कारण बन्द रहेका काठमाडौँ उपत्यकाका विद्यालयहरूमा पठनपाठन सुरू


काठमाडाैँ । जेन जी आन्दोलनका कारण बन्द रहेका काठमाडौँ उपत्यकाका विद्यालयहरू क्रमशः सञ्चालन हुन थालेका छन् ।

सोमवारबाट काठमाडौँ उपत्यकाका विद्यालयहरू सुचारु हुन थालेका हुन् । जेन जी आन्दोलनले त्रस्त विद्यालयहरू केही दिनका लागि बन्द गरिएको थियो । जेन जी आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायत सरकारी निकायहरू जलेर ध्वस्त भएसँगै विद्यालयहरूले केही दिनका लागि पठनपाठन बन्द गरेका थिए ।

अहिले अवस्था सामान्य बनेसँगै विद्यालयहरु पुनः सञ्चालन भइ पठनपाठन सुरू गरेका छन् । तर जेन जीका मागहरू पूरा नभएको भन्दै आइतवार साँझ जेन जी आन्दोलनका अगुवा सुदन गुरुङ समूहले आन्दोलन गर्दै नाराबाजीसहित प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेसँगै स्थिति पुनः जटिल बन्नेतर्फ अग्रसर भएको कतिपयको आँकलन छ ।

प्रधानमन्त्री कार्कीले जेन जीसँग छलफल नै नगरी मन्त्रीपरिषद् विस्तार गरेकाे भन्दै गुरुङ समूहले नाराबाजी गरेको थियो । उनीहरूले आफूहरूका माग पूरा नभए आन्दोलन नरोकिने पुनः सडकमा आउने चेतावनी दिएका छन् ।