काठमाडौँ । नेपाली कीर्तिमानी आरोही तथा पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढा मगर एमबीईलाई बेलायतको क्यान्टरबरी क्राइस्ट चर्च विश्वविद्यालयले मानार्थ डाक्टर उपाधिबाट सम्मानित गरेको छ।
विश्वविद्यालयले उनको असाधारण जीवन यात्रा, शारीरिक अक्षमतामाथि विजय, प्रेरणादायी योगदान र सामाजिक कार्यको कदर गर्दै एक विशेष औपचारिक समारोहमार्फत उपाधि प्रदान गरेको हो।
सम्मान ग्रहण गर्दै हरिले आफ्ना बाल्यकालदेखि हालसम्मको संघर्ष सम्झिँदै प्रतिक्रिया दिएका थिए। उनले भने, “क्यान्टरबरी क्राइस्ट चर्च विश्वविद्यालयलाई यो सम्मानका लागि धन्यवाद। गोठमा जन्मेको, खाली खुट्टा स्कुल गएको, पातमा ढुंगाले लेख्न सिकेको, पटक–पटक स्कूलमा फेल भएको र विश्वविद्यालय कहिल्यै नदेखेको म व्यक्ति, आज यो उपाधि प्राप्त गर्दा विश्वास गर्न गाह्रो भइरहेको छ।” साथै उनले शिक्षण संस्थाले किताबमै सीमित नभई जीवनका संघर्ष र सिकाइलाई पनि महत्व दिन्छ भन्ने अनुभव भएको बताए।
सन् १९७९ मा रोल्पाको एक सानो गाउँमा गाईको गोठमा जन्मिएका हरिले कठिनाइबीचको बाल्यकाल व्यतित गरेका थिए। आर्थिक अभावका कारण पढाइमा पटक–पटक असफल भए पनि उनले दृढता र मेहनतलाई छाडेनन्।
१९ वर्षको उमेरमा बेलायती सेनाको रोयल गोरखा रायफल्समा भर्ती भई १५ वर्षसम्म पाँच महादेशमा सेवा गरेका उनले सन् २०१० मा अफगानिस्तानमा तालिबानविरुद्धको कारबाहीका क्रममा आईईडी विस्फोटमा परेर दुबै खुट्टा गुमाए। यो ठूलो दुर्घटनापछि उनले जीवनलाई नयाँ दिशा दिँदै अपांगता भएका व्यक्तिहरूको सम्भावना र क्षमताबारे विश्वलाई देखाए।
खुट्टा गुमाइसकेपछि पनि उनले आफूलाई खेलकुद र साहसिक गतिविधिमा सक्रिय बनाए। साइकल चलाउने, प्यारासुटमार्फत आकाशमा फाल्ने, हिमाल आरोहण, कायकिङ, स्की, ह्वीलचेयर दौड, बास्केटबल र रग्बी खेलमार्फत उनले निरन्तर ‘अपांगता कमजोरी होइन, अवसर हो’ भन्ने सन्देश दिए।
उनका प्रमुख आरोहण उपलब्धिहरूमा सन् २०१७ मा मेरा पिक (६,४७६ मि) आरोहण, २०१९ मा माउन्ट ब्लाङ (४,८१० मि) र चुलु फार ईस्ट (६,०५९ मि) आरोहण, २०२० मा किलिमन्जारो (५,८९५ मि) आरोहण, मे २०२३ मा विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मि) आरोहण, जुलाई २०२४ मा अमेरिकाको सर्वोच्च शिखर डेनाली (६,१९० मि) आरोहण र फेब्रुअरी २०२५ मा दक्षिण अमेरिकाको सर्वोच्च शिखर आकान्कागुआ (६,९६० मि) आरोहण रहेका छन्।
हालसम्म उनले पाँच महादेशका शिखर सफलतापूर्वक आरोहण गरिसकेका छन् भने बाँकी दुई महादेशका शिखर चढ्ने तयारी गरिरहेका छन्। यी उपलब्धिहरूका कारण उनले गिनिज विश्व रेकर्ड समेत कायम गरेका छन्।
उनलाई सन् २०२३ मा बेलायतको “प्राइड अफ ब्रिटेन” पुरस्कार र २०२४ मा ब्रिटिश साम्राज्य पदक (एमबीई) प्रदान गरिएको छ। प्रिन्सेस रोयलद्वारा हस्तान्तरण गरिएको यो पदक उनले अपांगता सचेतना, साहसिक योगदान र च्यारिटी कार्यको सम्मानस्वरूप प्राप्त गरेका थिए।
साथै उनले ब्लेस्मा, गुरखा कल्याण कोष, अन कोर्स फाउन्डेसन, पिलग्रिम ब्यान्डिट्स, टिम फोर्सेसजस्ता संस्थाका लागि लाखौँ पाउन्ड संकलन गरी समाजसेवामा उल्लेखनीय योगदान गरेका छन्।
प्रतिक्रिया दिनुहोस्