मुस्ताङ भन्सारबाट ६७ करोड बढी राजस्व संकलन


काठमाडौं । नेपाल–चीन सीमानामा अवस्थित मुस्ताङ भन्सार कार्यालयले सञ्चालनमा आएको एक सातामै ६७ करोड ९९ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। चीनसँगको उत्तरी कोरला नाकास्थित न्हेचुङमा भन्सार कार्यालय गत हप्ता पूर्ण रुपमा सञ्चालनमा आएपछि यहाँको नाकाबाट आयात–निर्यात गतिविधि औपचारिक रुपमा सुरु भएको हो।

भन्सार अधिकृत रमेश खड्काका अनुसार चीनतर्फबाट हालसम्म ३४३ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। जसमध्ये २३० वटा गाडीको भन्सार जाँचपाँस सकिएको छ। त्यस्तै, १६९ वटा मालबाहक कन्टेनर नेपाल प्रवेश गरेका छन् भने १४१ वटा कन्टेनरले भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।

नेपालतर्फबाट भने दुई कन्टेनरमा हस्तकलाका सामग्री निकासी भएको कार्यालयले जनाएको छ। हाल पनि ११३ वटा विद्युतीय सवारी र २८ वटा कन्टेनर भन्सार प्रक्रियामा रहेका छन्। तर, सीमापार पास नभएका नेपाली चालकलाई चीनतर्फ प्रवेश नदिने प्रावधानका कारण सवारी–सामान ल्याउन ढिलाइ भइरहेको भन्सार अधिकृत खड्काले जानकारी दिए।

“अहिले दैनिक पाँचदेखि दसवटा कन्टेनर र उस्तै संख्यामा विद्युतीय गाडी मात्र स्थानीय चालकले ल्याइरहेका छन्,” खड्काले भने, “चालकको दक्षता र प्राविधिक क्षमता कम भएकाले आयात प्रक्रिया सुस्त भएको हो।”

यसअघि तातोपानी र रसुवागढी नाका बाढी–पहिरोका कारण अवरुद्ध भएपछि वैकल्पिक व्यापारिक मार्गका रूपमा कोरला नाकालाई प्रयोगमा ल्याइएको थियो। हाल भने सिन्धुपाल्चोकतर्फको तातोपानी नाका सञ्चालनमा आएसँगै कोरलामाथिको चाप केही कम भएको भन्सार कार्यालयले जनाएको छ।

व्यापारिक गतिविधि व्यवस्थित गर्न भन्सार विभागले आसिकुड प्रणाली लागू गरेको छ। यस्तै, नेपाल राष्ट्र बैंकले पनि एकीकृत परिपत्र–२०८१ मा कोरला नाकाबाट मालसामान आयातका लागि एलसी ९प्रतीतपत्र० मार्फत कारोबार गर्न सकिने व्यवस्था गरेको छ।