काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौं महानगरपालिकाभित्रका खोलामा पानीको बहाव तीव्र बनेपछि डुबानको जोखिम बढेको छ।
यस अवस्थालाई ध्यानमा राख्दै महानगरपालिकाको शिक्षा विभागले सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको महानगरपालिकाले जनाएको छ।
विद्यालयहरूलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने भएकाले आवश्यक पूर्वाधार जस्तै खानेपानी, शौचालय र सुरक्षित बसाइका व्यवस्था मिलाइराख्न भनिएको छ।
महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार बागमती, विष्णुमतीसहितका खोलाहरूको पानीको सतह निरन्तर निगरानीमा राखिएको छ।
विशेष गरी थली, बनेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडा सदस्यहरूको समन्वयमा विद्यालयहरू पहिचान गरी तयारी अवस्थामा राखिएको छ।
गत वर्ष पनि जोखिममा परेका क्षेत्रमा प्राविधिक टोली खटाएर निगरानी गरिएको स्मरण गर्दै महानगरले यस वर्ष अझ बढी सतर्कता अपनाइएको जनाएको छ।
हालसम्म ठूलो बाढीको घटना नघटेपनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धार तथा व्यवस्थापन कार्य महानगरपालिकाको प्रत्यक्ष समन्वयमा सञ्चालन गरिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्