काठमाडौँ । शुक्रबारदेखि लगातार परिरहेको अविरल वर्षाका कारण प्रभावित काठमाडौँका बल्खु, टेकु, विष्णुमती कोरिडोरलगायत क्षेत्रमा आज दिनभर ठुलो मात्रामा हिलो व्यवस्थापन र सफाइ कार्य सञ्चालन भइरहेको छ।
नगर प्रहरी बलका नायव उपरीक्षक (डीएसपी) मिनबहादुर थापाका अनुसार बिहानैदेखि काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका करिब सय जना कामदार, तीनवटा जेसीभी, तीनवटा जेट मेसिन र डम्पर प्रयोग गरी प्रभावित क्षेत्रमा हिलो सोहोर्ने, ढुङ्गा–ग्राभेल हटाउने र सडक सफा गर्ने कार्य भइरहेको छ।
थापाले भने, “बल्खु तरकारी बजार, साझा पेट्रोल पम्प अगाडिको लाइन, टेकु दोभान, बङ्सीघाट, च्यासल, संखमुल, नरेफाटको लालीगुराँस चोक तथा विष्णुमती कोरिडोर क्षेत्रमा विशेष रूपमा सफाइ कार्य भइरहेको छ।”
तर, बङ्सीघाट र टेकु दोभान क्षेत्रमा अत्यधिक गिलो हिलोका कारण मेसिनले समेत काम गर्न नसक्दा आजको कार्य अधुरो रहेको उनले बताए । “हिलो पूरै पानी-पानी भएको छ, साबेलले निकाल्न र मेसिनले समेत सोहोर्न नसक्ने अवस्था छ। त्यसैले केही ठाउँमा आज सहज रूपमा काम गर्न सकिएन,” उनले थपे।
नगर प्रहरी बलका टोलीहरू प्रभावित बस्तीहरूमा पनि खटिएका छन्। बङ्सीघाट र टेकु दोभानका बस्तीहरूमा हिलो घरभित्र पसेको र स्थानीयवासीले समेत सफाइमा सहयोग गरिरहेको जानकारी थापाले दिए।
थापाका अनुसार बल्खु फलफूल बजार क्षेत्रको सडक अझै पनि अत्यन्त गिलो छ, जसलाई अहिले अस्थायी रूपमा हिलो थुपारेर बाटो खुलाइएको छ। उनले भने, “हामीले तत्काल सम्भव हुने ठाउँमा हिलो व्यवस्थापन गरेका छौँ, तर अझै उठाउनै नसकिने अवस्था छ। घाम लागेपछि सफाइ सहज हुनेछ र प्रभावित क्षेत्र सफा गर्न सकिनेछ।”
प्रतिक्रिया दिनुहोस्