काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा रु. १ करोड ५० लाख आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले उक्त रकम नेपाल सरकारको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा हुने गरी चेक मार्फत अर्थ मन्त्रालयमा बुझाएको हो।
मन्त्रालयलाई पेश गरिएको पत्रमा कम्पनीले हालै भाद्र २३ र २४ गते भएका जेन–जी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक भौतिक संरचनामा भएको क्षति र आगजनीका कारण देशभर पुनर्निर्माण, राहत तथा आर्थिक पुनरुत्थानका कामको आवश्यकता देखिएको उल्लेख गरेको छ। यसै सन्दर्भमा नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा आर्थिक सहयोग गर्न अर्थ मन्त्रालयले गरेको आव्हानलाई समर्थन गर्दै कम्पनीले सहयोग गरेको जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशश विक्रम खत्रीले अर्थ मन्त्रालयमा सहयोग रकम बापतको रु. १ करोड ५० लाखको चेक हस्तान्तरण गर्दै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सूर्यज्योति लाइफ इन्स्योरेन्सले सदैव राष्ट्रले आवश्यकता महसुस गरेका कठिन परिस्थितिमा साथ दिँदै आएको बताए। उनले यस सहयोगबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
नेपाल सरकारले असोज ८ गते अर्थ मन्त्रालयमार्फत ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा निजी क्षेत्र, वित्तीय संस्था, उद्योग र आम नागरिकलाई सहयोगका लागि आव्हान गरेको थियो। उक्त आव्हानपछि निजी क्षेत्रका विभिन्न कम्पनी र संस्थाहरूबाट सहयोग रकम प्रदान गर्न थालिएको छ।




प्रतिक्रिया दिनुहोस्