धितोपत्र बोर्डको अन्यौल चाँडो समाधान गर्न मर्चेन्ट बैंकर्स संघको आग्रह


काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले नेपाल धितोपत्र बोर्डमा उत्पन्न वर्तमान अन्यौलपूर्ण अवस्थाको शीघ्र समाधानका लागि नेपाल सरकार, अर्थ मन्त्रालय र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।

संघका अध्यक्ष रामेन्द्र रायमाझीले सोमबार जारी गरेको विज्ञप्तीमा धितोपत्र बोर्डमा तीन सातादेखि जारी कर्मचारी आन्दोलनका कारण पूँजी बजारका प्रमुख कार्यहरू ठप्प सरह भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।

अर्थ मन्त्रालयले २०८२ साल भाद्र ३१ गते बोर्डका कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी निर्देशन जारी गरेपछि त्यसको कार्यान्वयन प्रक्रियामा उत्पन्न असमझदारीका कारण कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनका कारण मर्चेन्ट बैंकर्सले बोर्डमा बुझाउनुपर्ने नियमित विवरण तथा कागजातहरू बुझाउन नसकेको र सार्वजनिक निष्कासन लगायतका कार्य प्रभावित भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघले यस्तो अवस्थामा पूँजी बजारको सर्वोच्च नियामक निकाय नै निष्क्रिय बन्नु देशको वित्तीय प्रणालीका लागि चिन्ताजनक रहेको उल्लेख गर्दै तत्काल समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ।

“नेपाल धितोपत्र बोर्ड मातहतका सङ्गठित संस्था, सूचीकृत कम्पनीहरू र पूँजी बजारका अन्य सहभागीहरूको नियमन तथा सुपरिवेक्षण आवश्यक भएको समयमा यस्तो असहज अवस्था रहनु बजार स्थायित्वका दृष्टिले हानिकारक हुन सक्छ,” विज्ञप्तीमा भनिएको छ।

संघले पूँजी बजार सुधार कार्यदलले सुझाएका सिफारिस कार्यान्वयनका क्रममा पनि बोर्डको सुचारु क्रियाशीलता अपरिहार्य रहेको उल्लेख गर्दै, बोर्डबाट प्रवाह हुने सम्पूर्ण काम यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय धितोपत्र नियामक निकायहरूको संगठनका सिद्धान्त अनुसार नियामक संस्थाको स्वायत्तता, संस्थागत निरन्तरता र स्थायित्व कायम हनु अत्यावश्यक रहेको भन्दै नेपाल धितोपत्र बोर्डको स्वायत्तता र पूँजी बजारको स्थायित्वलाई ध्यानमा राखी आन्दोलनरत कर्मचारीहरूसँग सकारात्मक संवाद र सहमतिबाट वर्तमान संकटको समाधान खोज्न संघले आग्रह गरेको छ ।