देउवाले कार्यवाहक तोके, प्रचण्ड संयोजक भए, ओली भन्छन्,‘फेसबुकमा लेख्दैमा नेतृत्व छोड्छु ?’


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्ष स्वेच्छिक तरिकाले नछोड्ने स्पष्ट पारेका छन् ।

आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले कसैले फेसबुकमा लेख्दैमा पार्टी नेतत्व नछोड्ने र त्यसका लागि पार्टी केन्द्रीय कमिटीले निर्णय गर्नुपर्ने बताए ।

उनले भने,“ पार्टी भित्र पनि केही सुरवीरहरूलाई एउटा लहर चलेको देख्छु । लहड चलेको देख्छु–अध्यक्षले छोड्नुपर्छ । कसैले मेरो राम्रो बौद्धिकस्तर र विश्लेषण क्षमता राम्रो भएको हुनाले छोडेर सबैलाई खुशी पार्दिन्छ । देश अलपत्र पार्छ भन्ने ब्याख्या गरेको सुन्छु । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन्, यो कमिटीले भन्नुपर्छ ।”

ओलीले जेनजी विद्रोहपछि राजीनामा दिएका थिए । उनलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेनाले हेलिकप्टरबाट उद्दार गरेको थियो ।

जेनजी विद्रोहपछि ओलीले नेतृत्व छोड्नुपर्ने आवाज उठिरहेका बेला उनको यस्तो धारणा आएको हो । पार्टी केन्द्रीय कमिटीले निर्णय गरे आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको ओलीको भनाई थियो ।

उनले भने,“ हटने पनि प्रक्रिया हुन्छ । विरोधहरूलाई त घरमा आगो लगाउन मन लागेको थियो । पार्टी कार्यालयमा आगो लगाउन मन लागेको थियो । मन नपराएर होइन हाम्रो केन्द्रीय कार्यालय जलाएको ? हाम्रा नेताहरूको घरमा आगो लगाएको मन पराएर हो ? त्यो विरोधीले गरेको हो ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजोमात्रै केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन् । प्रचण्डले पनि महाधिवेशन गर्ने निर्णय गर्दै आफूलाई संयोजक बनाएका छन् ।

ओलीले भने फेसबुकमा लेख्दैमा नेतृत्व नछोड्ने स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले विरोधीहरूले पार्टीमाथि आक्रमण गरिरहेका बेला पार्टी भित्रकाहरूले पनि सोही अनुसारको गतिविधि गर्नेकुरा सैह्य नहुने चेतावनी समेत दिएका छन् ।