काठमाडाैँ । सूर्यदेवको आराधनामा समर्पित चारदिने छठ पर्व आजदेखि देशभर विशेष उत्साहका साथ सुरु भएको छ । तराई–मधेशका शहर र गाउँहरू अहिले छठको रंगमा रमेका छन् । बिहानैदेखि नदी, पोखरी र जलाशयमा स्नान गरी ‘नहाय–खाय’ विधिबाट पर्वको आरम्भ भएको छ ।
बजारहरूमा बाँसका डगरी, ढाकी, कोसिया–कुरबारदेखि ठकुवा, भुसुवा, केरा, उखु र विभिन्न फलफूल खरिद गर्ने भक्तजनहरूको भीड देखिन्छ ।
जनकपुरका ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ तालहरू दीप, पुष्प र रङ्गीन बत्तीले सिँगारिँदै छन् । मिथिलाञ्चलका गल्ली–गल्लीमा बजिरहेका छठ गीतहरूले वातावरण भक्ति र उल्लासमय बनाएको छ ।
भोलि खरनाको दिन ब्रतालुहरूले चामल, दूध र सक्खरको खीर बनाएर प्रसादस्वरूप ग्रहण गर्नेछन् । त्यसपछिको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई जलाशय किनारमा अर्घ्य दिने तयारी तीव्र रूपमा भइरहेको छ । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी ‘पारन’सँगै व्रत सम्पन्न गरिनेछ ।
४८ घण्टासम्म अन्न र पानी त्यागी साधना गर्ने ब्रतालुको निष्ठा र संयमले यो पर्वलाई कठोर तपस्या र आस्थाको प्रतीक बनाएको छ । परिवारको सुख–समृद्धि र सन्तानको दीर्घायुका लागि अर्घ्य अर्पण गरिने छठ सामाजिक एकता र सद्भावको सन्देश बोकेर मनाइने नेपालका प्रमुख पर्वमध्ये एक बनेको छ ।



प्रतिक्रिया दिनुहोस्