सरकार निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्नेमा राष्ट्रिय सभाका सांसदहरुको जोड


काठमाडाैं । राष्ट्रिय सभाका सांसदहरुले सरकारले निर्वाचनसम्बन्धि छलफललाई व्यापक बहसको विषय बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । 

बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरुले निर्वाचन केन्द्रित छलफलमा ध्यान दिन सरकारलाई सचेत गराएका हुन । बैठकमा बोल्दै सांसद पदमबहादुर परियारले राष्ट्रिय महत्वको विषय भएकाले निर्वाचनको विषयमा सरकारले व्यापक छलफल अघि बढाउनुपर्ने बताए । उनले समितिले पनि सरकारलाई बोलाएर निर्वाचनको तयारीको बारेमा छलफल गर्नुपर्ने धारणा राखे । 

निर्वाचन हुने अवस्था मुलुकमा नरहेको पनि सांसदहरुले जिकिर गरेका छन् । सांसद सुमित्रा बिसीले मन्त्रीहरुकै राजीनामा माग्न थालिएको भन्दै फागुन २१ गते निर्वाचन हुने वातावरण नरहेको बताइन। निर्वाचनको वातावरण बनाउनका लागि सरकारले शान्ति सुरक्षाको अवस्था मजबुत बनाउने काम गर्न नसकेको उनकाे आरोप छ ।

सांसद गोमादेवी तिमिल्सिनाले संघीय संसदको सेवा सुविधा कटाउने र घटाउने काम गरेको भन्दै सरकारको आलोचना गरिन । उनले जेनजी आन्दोलनले ध्वस्त बनाएका दस्तावेजहरुको खोजी गर्न पनि सरकारको ध्यानाकर्षण गराइन ।