काठमाडाैँ । नदी छेउमा बनाइएका जैविक तटवन्धले कटान तथा बाढी रोकेपछि बाँके, बर्दिया, कञ्चनपुरका नदी तटिय क्षेत्रमा बसोवास गर्ने किसान लाभान्वित भएका छन् ।
पानी पर्ने बित्तिकै कर्णाली र शाखा नदीहरुका तटीय क्षेत्रमा रहेका समुदाय बाढीबाट प्रभावित हुने गर्छन् । त्यस्तै बाढीको अत्याधिक जोखिममा पर्ने स्थान मध्य एक हो बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ को बंगालीपुर गाउँ । बंगालीपुरस्थित समुदायस्तरिय विपद् व्यवस्थापन समितिको सक्रियतामा औराही नदीको तटिय क्षेत्रमा २ सय २० मिटर लामो जैविक तटवन्ध निर्माण गरिएको छ ।
तटवन्ध निर्माणपछि स्थानीयवासीले सुरक्षित महशुस गरेका छन् । खोज तथा उद्धार समिति बंगालीपुरका संयोजक गीता थारुकाअनुसार त्यस्ता तटवन्धले कटान रोक्ने मात्रै नभई धेरै कृषि उत्पादनहरू सुरक्षित भएको र केही स्थानमा बाढी आउन समेत रोकिएको बताइन् ।
उनले भनिन्, “पहिले हाम्रो गाउँसम्म बाढी पस्थ्यो, धान पनि डुबाउँथ्यो, बगाउँथ्यो । धेरै खेतीयोग्य जमिनहरु नदीले काटेर लग्यो । अहिले तटवन्ध बनाएपछि भने बाढी आउन रोकिएको छ, गाउँ पनि सुरक्षित भएको छ । “
बंगालीपुर हुँदै बग्ने औराही खोलामा आउने बाढीले गाउँ नै डुबानमा पथ्र्यो । खेतको अन्न तथा तरकारीबालीको साथै सञ्चित खाद्यान्नमा पनि नोक्शान गथ्र्यो । बस्तीमा पानी पसेपछि स्थानीयहरु घर छोड्न बाध्य हुन्थे । पशु चौपाया र बालबच्चा लिएर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता अहिले छैन । बंगालीपुरका चौकीदार लक्ष्मीराम थारु जैविक तटवन्ध बनेपछि बाढीको त्रास हटेकोमा खुशी छन् । उनले भने,”तटवन्धन बन्नुअघि हाम्रो धेरै समस्या थियो, गाउँ नै डुब्थ्यो, पहिले पहिले धान खेत सबै डुब्थ्यो, बाढीले घर बगाइदिँदा कहाँ खाने कहाँ सुत्ने ठेगान हुँदैन थियो । अहिले तटबन्ध बनेपछि पानी परेको समयमा पनि घरमा नै बस्न पाएका छौं, ढुक्क भएको छ ।”
विक्रम संवत २०७२ मा बाढी उत्थानशील कार्यक्रममार्फत प्राक्टिकल एक्शनको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको श्रमदानबाट जैविक तटवन्ध निर्माण भएपछि २ सय १५ घरधुरी डुवानबाट जोगिएका छन् । स्थानीयतहमा उपलब्ध साधन स्रोत बाँस, बालुवा भरिएको बोरा, डोरी, तार जस्ता सामग्रीबाट २ सय २० मिटर जैबिक तटवन्ध निर्माण गरिएको थियो । तटवन्धपछि अहिले खोलाको बाढी गाउँ पस्न रोकिएको छ ।
बाँस र रुख रोपिएकाले रुखका जराले तटबन्ध बलियो बनाएको छ । तटवन्ध निर्माण भएको १० वर्ष बितिसक्दा तटवन्धले प्राकृतिक स्वरुप लिएकाले बलियो र मजबुत छ । खोलाले कटान गर्न पाएको छैन । मधुवन नगरपालिका वडा नं. २ का अध्यक्ष आशाराम थारु अन्य जोखिम पूर्ण स्थानमा पनि जैविक तटवन्ध बनाउन पहल गर्नुपर्नेमा जोड दिए। “वडा नम्बर २ मा २०७२ सालमा तटवन्ध बनेपछि समुदायमा क्षति भएको छैन । बालीनालीको नोक्शान भएको सुन्नमा आएको छैन । जैविक रूपमा नै तटवन्ध बनेको कारण यसको रिजल्ट पनि राम्रो देखिएको छ, तटवन्ध बनेपछि बाढी र कटानको घटना भएको छैन,” उनले भने । बाढीले नोक्शान गरेको खबर सुन्न नपरेपछि व्यवस्थापनमा पनि सजिलो भएको छ । स्थानीय सरकारको विपद् व्यवस्थापनमा खर्चहुने रकम पनि जोखिएको छ ।
राजापुर नगरपालिका वडा नं.३ रजपुरवा र वडा नं.४ मुक्तकमैया टोलको बुढी खोलामा पनि जैविक तटवन्ध निर्माण गरिएको छ । यस्तै कञ्चनपुरको शूल्काफाँटा नगरपालिका तिल्कीको दोदा नदीमा पनि जैविक तटबन्ध बनाइएको छ । तटबन्धले बाढी र कटान रोकेपछि वर्षौंदेखि बाँझो खेतमा तरकारी र अन्नखेती गर्न थालिएको छ ।
२०६५ मा दोदा नदीमा आएको बाढीबाट शुक्लाफाँटा नगरपालिका १२ तिल्कीका १२ परिवार र लालझाडीको सिंगो गाउँ नै विस्थापित भएको थियो । दोदा नदीमा हरेक वर्ष आउने बाढीले कृष्णपुर, शुक्लाफाँटा, लालझाडी र पुनर्वासमा ठूलो क्षति पु¥याउँथ्यो । नदीले खेत कटान गर्दै गाउँसम्म पुगिसकेको थियो भने वरपरका जमिन पनि बाँझो थिए ।
प्राक्टिकल एक्शन र पेसवानको सहकार्यमा संचालित समुदायका लागि जलवायु उत्थानशिल कार्यक्रम अन्र्तगत तिल्की आसपास दोदा नदीमा चार सय मिटर जैविक तटवन्ध निर्माणपछि बाढी मात्रै रोकिएको छैन, वर्षौंदेखि बाँझो जमिन हराभरा देखिन थालेका छन् । यसले स्थानीय ८५ घर परिवारमा खुशी ल्याएको छ ।
शुक्लाफाँटा नगरपालिका १२, तिल्की कञ्चनपुरकी कलावतीदेवि डगौरा तटवन्ध बनेपछि खेती गर्न सहज भएको र बाढीले बगाइदिने डर पनि नभएको बताउँछिन् । “पहिला भन्दा सजिलो भएको छ । खोलाबाट पानी माथि फर्किन्थ्यो । बाढीले सबै बगाउथ्यो । तटवन्ध पछि घाँस रोप्यौँ, बाँस रोप्यौ, चरिचरन पनि बन्द ग¥यौं । अहिले सरखण्ड, उखु, मास रोपेका छौं,” उनले भनिन् ।
नदी कटान रोकी क्षति न्युनिकरण गर्न बाँस, बोरा, स्याउला, बालुवाको प्रयोग गरी जैविक तटवन्धन निर्माण गरिन्छ । समुदायका लागि जलवायु उत्थानशिल कार्यक्रमका प्राविधिक सुपरीवेक्षक जनक लेखकले वातावरणमैत्री र स्थानीय स्रोतसाधन प्रयोगबाट निर्माण गरिने जैविक तटवन्ध कम खर्चिलो र धेरै प्रभावकारी रहेको बताए । उनले भने,”यो वातावरणमैत्री पनि छ । स्थानीय स्तरमा प्राप्त स्रोत साधन नै प्रयोग हुन्छ । यसमा बढी बाँस प्रयोग हुन्छ । यो कम खर्चिलो पनि छ ।”
पहिलो चरणमा परियोजनाबाट १० लाख ६८ हजार ४ सय र दोश्रो चरणमा १० लाख ५० हजार ३ सय गरी लगभग २१ लाख रुपैयाँ रकम खर्च गरिएको छ । ४ सय मिटर लामो जैविक तटवन्ध निर्माणमा स्थानीयवासीले १ लाख १० हजार बराबरको जनश्रमदान गरेका छन् । जैविक तटवन्धले ३० हेक्टर क्षेत्रफल जमिन कटान हुन बाट जोगिएको छ ।
तटबन्ध पछि तटिय क्षेत्रका स्थानीयले बगर छेउमा उखु, सखरखण्ड, बदाम लगायत कृषि तथा तरकारी लगाएर आयआर्जन गर्न थालेका छन् । तिल्कीको इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिका सचिव मंगलप्रसाद चौधरीले जोखिमपूर्ण स्थानमा जैविक तटबन्ध नै निर्माण गर्नुपर्ने सुझाव दिन्छन् । “यो वातावरणमैत्री प्रविधि हो । यसबाट कटानी पनि रोकिन्छ र केही हदसम्म बाढी पनि । स्थानीय सीपले पुग्ने, यो प्रविधि सजिलो र सस्तो भएकाले कम पैसामा धेरै ठाउँमा तटवन्ध बनाउन सकिन्छ । २४ लाखमा हामीले चार सय मिटर तटबन्ध निर्माण ग¥यौँ । यसको दक्षिणतर्फ पनि यस्तै तटवन्ध गरेर घाँस, खर उत्पादन गरि ढकिया लगाएत बनाउन काम लाग्छ । त्यसैले यो प्रविधि अन्यत्र पनि प्रयोग गर्न सुझाब दिन्छु,” उनले भने ।
बर्दियाको गुलरिया नगरपालिकास्थित बालापुरमा सबैभन्दा पहिले जैबिक तटवन्ध निर्माण गरिएको थियो । यो तटवन्ध सफल अनि प्रभावकारी देखिएपछि जलवायु उत्थानशिलमा काम गर्दै आएका संघ संस्था र स्थानीय सरकारले चासो देखाइ बजेट छुट्याउन थालेका छन् ।
अहिले राजापुर नगरपालिकाको राजापुरुवा मुक्तकमैया टोल, जानकी गाउँपालिकाको सातबिघा, बक्लहवा, फरेला, गेरुवा गाउँपालिकाको दक्षिणपुरमा पनि जैविक तटवन्ध बनाइएको छ । अहिले यी स्थानमा मनसुन तथा अन्य समयमा पानी पर्ने बित्तिकै नदी तटिय गाउँबस्ती डुबानमा पर्ने तथा स्थानीयको घर, कृषिबाली तथा भण्डारण गरिएको खाद्यान्नमा हुने क्षति रोकिएको छ ।
तटिय क्षेत्रका बासिन्दाले नदी किनार तथा बगरमा तरकारी तथा अन्नबाली लगाएर आयआर्जन पनि गर्न थालेका छन् । अहिले यस्ता जैविक तटवन्ध कञ्चनपुरको दोदा, राजापुर नगरपालिकाको बुढीखोाला, बालापुर गुलरियााको बबई लगायत १२ भन्दा बढी समुदायमाा निर्माण भईसकेका छन् । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस्