काठमाडौँ । गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई दीर्घकालीन रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सामाजिक सञ्जाल ‘लिंकडइन’ मार्फत प्रकाशित भिडियो सन्देशमा उनले अभिभावकसँगै बालबालिकाले जीवनमा सुरक्षाको सुनिश्चितता गुमाएको भन्दै शैक्षिक सहयोगमार्फत् उनीहरूको सपना पूरा गर्न अघि बढ्ने बताए।
गोल्याण ग्रुपले यसअघि नै सहिद परिवारका ३२ जना बालबालिकालाई मासिक ४० हजारसम्मको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरिसकेको छ। १२ कक्षासम्मको शिक्षाका लागि प्रति विद्यार्थी वार्षिक ४ लाख ८० हजारसम्मको छात्रवृत्तिका लागि ग्रुप, विद्यालय र अभिभावकबीच त्रिपक्षीय सम्झौता पनि गरिएको छ।
विश्व बाल दिवसको अवसर पारेर ग्रुपले बालबालिकालाई ‘किड्स–प्ले डेट’ कार्यक्रममा सहभागी गराएको थियो। कार्यक्रममा बालबालिकाले रमाउँदै खेल्ने दृश्य समेटिएको भिडियो प्रबन्ध निर्देशक गोल्याणले पोष्ट गर्दै भनेका छन्, “यहाँ उनीहरूलाई निम्त्याइएको केवल मनोरञ्जनका लागि होइन, प्रत्येक बालबालिकाले खुशी र सुरक्षासँग जीवनप्रति आशावादी हुने हक राख्छन् भन्ने स्मरण गराउन पनि हो।”
गोल्याणले जीवनको कठिन समयमा बालबालिकालाई एक्लै नछाड्ने उद्देश्यले सहयोगको हात बढाएको बताए। उनले भने, “हाम्रो प्रतिबद्धता सामान्य छैन। हामी भोलि पनि उनीहरूसँगै हुनेछौं। हरेक बालबालिकाले जीवनमा सपना देख्ने हक राख्छन्, र हामी ती बालबालिकाका लागि त्यसको सुनिश्चितता गर्नेछौं।”
साथै उनले बालबालिकाको मुस्कानले अर्थपूर्ण सन्देश प्रवाह गरेको बताए। “कहिलेकाहीँ सामान्य क्षणहरूले पनि गहिरो पाठ सिकाउँछन्। उनीहरूमा देखिएको हाँसो, सिर्जनशीलता र ऊर्जाले साँच्चिकै सुन्दर भविष्यको संकेत गरेको छ,” उनले भनेका छन्।



प्रतिक्रिया दिनुहोस्