काठमाडौँ । पाँचओटा कम्पनीले चुनढुङ्गा उत्खननका लागि राष्ट्रिय वनभित्रको जग्गा प्रयोग गर्ने स्वीकृत पाएका छन् ।
मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ ओटा कम्पनीलाई चुनढुङ्गा उत्खननका लागि राष्ट्रिय वनभित्रको जग्गा प्रयोग गर्न दिने स्वीकृति दिएको हो ।
राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति पाउने कम्पनीमा शक्ति मिनिरल्स प्रा.लि., त्रिशक्ति होल्डिङ्गस् प्रा.लि, रिद्धिसिद्धि सिमेन्ट, बाबा माइन्स एन्ड मिनिरल्स प्रा.लि, के.के. लाइम्स एन्ड इन्डस्ट्रिज प्रा.लि.छन् ।
स्वीकृति पाएको शक्ति मिनिरल्स प्रा.लि.ले चुनढुङ्गा उत्खननका लागि लागि पाल्पाको माथागढी गाउँपालिका–७ धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गर्न पाउने छ ।
त्रिशक्ति होल्डिङ्सले चितवनको राप्ती नगरपालिक–१३ मा रहेको राष्ट्रिय वनको २०.१४ हेक्टर, रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरको भिमपेदी गाउँपालिका–७ मा रहेको राष्ट्रिय वनको २१.६३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति पाएको छ ।
बाबा माइन्स एन्ड मिनिरल्सले मकवानपुरकै भिमपेदी गाउँपालिका –५ मा रहेको राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा र के.के. लाइम्स एन्ड इन्डष्ट्रिजले उदयपुरको चौदण्डीगढी नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको २ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति पाएको छ ।
यस्तै आज सार्वजनिक भएको मन्त्रिपरिषद्को निर्णय अनुसार बिग प्लस मिनिरल्स प्रा.लि.लाई ग्रेनाइट उत्खननका लागि मकवानपुरको भिमफेदी गाउँपालिका–५ मा रहेको राष्ट्रिय वनको ४.४८ हेक्टर जग्गा र अन्नपूर्ण मिनिरल्स प्रा.लि.लाई फलाम उत्खननका लागि मकवानपुरको बागमती गाउँपालिका – ६ मा रहेको राष्ट्रिय वनको ४.९६ हेक्टर जग्गा प्रयोगको स्वीति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्