काठमाडौँ । च्याउ उत्पादनका लागि अत्यावश्यक मानिने परालको ढुवानी ‘भवरलोट’ को नाममा एक सातादेखि राेकिएपछि किसानहरू आन्दोलनमा उत्रिएका छन्।
रौतहटको पत्लैया–चन्द्रपुर मार्ग हुँदै तराईमा उत्पादन भएको पराल ल्याइरहेका १५० भन्दा बढी ट्रकलाई प्रहरीले छाड्न नमानेपछि च्याउ उत्पादक किसानहरू आज जिल्ला ट्राफिक कार्यालय, बाराको गेटअगाडि धर्नामा बसेका हुन्।
च्याउ उत्पादक किसान संघ नेपालका महासचिव विकास रिमालले किसानहरूको माग स्पष्ट र व्यवहारिक रहेको बताए। उनका अनुसार तराईबाट ल्याइने पराल ३ फिट (३ छलि) भित्र नियन्त्रणमा राखिएकाले सडकमा रहेका तार नछुने र १० फिट चौडाइको सडकमा सहजै ढुवानी गर्न सकिने अवस्था छ। “किसानले सामान्य र यथार्थपरक माग राखेका छन्। समाधान खोज्नु पर्ने विषयमा उल्टै किसानलाई दुःख दिने काम भइरहेको छ,” रिमालले भने।
उनका अनुसार किसानको खेतबाट फार्मसम्म पराल ढुवानी सहज बनाउन राज्यले सहयोग गर्नुपर्नेमा प्रशासनले अवरोध खडा गरिरहेको छ, जसका कारण च्याउ उत्पादन समयमै प्रभावित हुने अवस्था देखिएको छ।
धर्नामा संघका अध्यक्ष सन्तोष कार्की, उपाध्यक्ष रविन्द्र श्रेष्ठ, सचिव रमेश सापकोटा, कोषाध्यक्ष विनोद पौडेललगायतका पदाधिकारी पनि सहभागी छन्। किसानहरूले रोकिएका १५० भन्दा बढी ट्रक तत्काल छाड्न, ढुवानीमा पुनः अवरोध नआउने व्यवस्था मिलाउन र प्रशासनले किसानमैत्री नीति अपनाउन माग गरेका छन्।



प्रतिक्रिया दिनुहोस्