सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैनः अध्यक्ष ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रसँगै अगाडी नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रसँगै अगाडी नबढेमा अगाडी बढ्न नसकेको प्रमाणित भइसकेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, “जबसम्म निजी क्षेत्र सँगसँगै लिएर जान सकिँदैन तबसम्म नेपालको अर्थतन्त्र अगाडी लैजान सकिँदैन । यो प्रमाणित पनि भइसकेको छ ।”

निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण फेर्नु पर्ने आवश्यकता रहेको उनले बताए । अर्थतन्त्रका एजेन्डाहरूमा नेपाल पछि परेकाले यसमा ध्यान दिनुपर्ने समेत उनले बताए ।

हाम्रोमा कलेक्टिक एप्रोज पनि नभएकोमा अध्यक्ष ढकालले गुनासो गरे । यस्तो गर्न नसकेमा खोजेको वास्तविक परिणाम प्राप्त गर्न नसकिने उनको भनाई छ ।

नेपालमा केही गर्न सकिँदैन भनेर जुन प्रचार गरिएको छ त्यसलाई चिर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गरिरहेको उनले बताए ।

“आन्तरिक पुँजी परिचालन गरेर धेरै गर्न सकिन्छ । नेपालमा केही गर्न सकिँदैन भन्ने म्यासेजलाई चिर्दै निजी क्षेत्रले नेपालमै केही गर्न सकिन्छ भनेर गर्न सन्देश दिएका छौँ”, उनले भने ।

त्यस्तै, जेनजी आन्दोलनले माग गरेजस्तै सुशासनका विषयमा निजी क्षेत्रले पनि माग गरेको उनले बताए ।

आन्दोलनपछि कतिपय निजी क्षेत्रले माग गरेको विषयहरू परिवर्तन भइसकेका र हुने क्रममा रहेकाले निजी क्षेत्र उत्साहित रहेको अध्यक्ष ढकालको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानी प्रवर्धन गर्नका लागि देश तथा विदेशमा विभिन्न क्रियाकलापहरू गरेको समेत उनले जानकारी दिए ।