काठमाडाैँ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तथ्याङ्क प्रविष्टि नगरेका सहकारी संस्थाका लागि विवरण पठाउने समयावधि थप गरिएको छ।
सहकारी विभागले यसअघि गत कार्तिक मसान्तसम्म विवरण प्रविष्टि गर्न समय दिइएको भए पनि धेरै संस्थाबाट विवरण प्राप्त नभएकाले समयसीमा पौष मसान्तसम्म बढाएको हो। विभागले यसअघि नै विवरण भरिसकेका सहकारी संस्थाहरूले पुनः फाराम भर्नु नपर्ने स्पष्ट पारेको छ।
सङ्कलन कार्य गत साउन १ गतेदेखि निरन्तर रूपमा हुँदै आएको छ। सो क्रममा धेरै सहकारी संस्थाहरूले विभागले उपलब्ध गराएको गुगल फर्मस मा आफ्नो संस्थाको विवरण उत्साहपूर्वक प्रविष्टि गरिरहेका छन्।
यसैबिच सहकारी विभाग र राष्ट्रिय तथ्याङ्क कार्यालयको सहकार्यमा देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सहकारी क्षेत्रको योगदान मापन गर्ने उद्देश्यसहित सर्वेक्षणको तयारी भइरहेको सन्दर्भमा सहकारी संस्थाहरूको अद्यावधिक विवरण आवश्यक परेकाले समयावधि थप गरिएको विभागले स्पष्ट पारेको छ।
तोकिएको समयभित्र विवरण प्रविष्टि गर्न विभागले सम्बन्धित सबै सहकारी संस्थालाई अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्