काठमाडौँ। भदाै २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको सम्बन्धमा बिमा कम्पनीहरूले ५ अर्ब १८ करोड रुपैयाँ बिमितहरूलाई भुक्तानी गरेको नेपाल बिमा प्राधिकरणले जनाएको छ। कुल ३ हजार ३०३ वटा बिमा दाबीमा करिब २३ अर्ब ४५ करोड रुपैयाँको दाबी परेको थियो।
प्राधिकरणका अनुसार, १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बिमा कम्पनीबाट प्राप्त तथ्याङ्क अनुसार सम्पत्ति बिमामा ७१० वटा दाबीमध्ये करिब ३ अर्ब ८२ करोड, मोटर बिमामा २ हजार ३११ वटा दाबीमध्ये करिब १ अर्ब २२ करोड, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बिमामा २२५ वटा दाबीमध्ये करिब ७ करोड ५० लाख, परिवहन बिमामा १२ वटा दाबीमध्ये १ करोड ५५ लाख र अन्य बिमामा ४५ वटा दाबीमध्ये ५ करोड ५० लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
यसैगरी, नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई करिब ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानीसमेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको जनाएको छ।
पुनर्बीमा कम्पनीमा १४ वटा बीमा कम्पनीबाट कुल २ हजार ८६२ वटा दाबी परेको छ, जसको रकम करिब १६ अर्ब ६२ करोड रहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बिमा कम्पनीहरूले दाबी भुक्तानी प्रक्रिया छिटो र प्रभावकारी रूपमा अघि बढाइरहेको बताए।


प्रतिक्रिया दिनुहोस्