ठेक्का तोड्नु सरकारको बाध्यता हाेः मन्त्री घिसिङ


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङले ठेक्का तोड्नु सरकारको बाध्यता रहेको बताएका छन् ।

सडक बोर्ड नेपालको २३ औँ वार्षिकोत्सवको अवसरमा मंगलवार आयोजित कार्यक्रममा उनले सरकारले धेरै वर्षसम्म काम नभएका ठेक्का तोडेर व्यवस्थापन गर्ने काम गरिररहेको बताएका हुन् ।

उनले कम बजेटमा ठेक्का लिने, काम नगर्ने र जनतालाई दुःख दिने काम भएकोले बाध्य भएर ठेक्का तोड्नुपर्ने अवस्था आएको जानकारी दिए । उनले सबै निर्माण व्यवसायी गलत भने नभएको बताए । समयमा नै काम गर्ने निर्माण व्यवसायीहरू पनि रहेको उल्लेख गर्दै उनले उनीहरूलाई प्रोत्साहन गर्ने गरेको बताए ।

निर्माणमा समस्या देखिएका केही ऐन र नियामावलीमा संशोधन गर्ने तयारी पनि गरिरहेको उनले जानकारी दिए । निर्माण व्यवसायी विना देशको सम्रग विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताए । विकास बजेट खर्च निर्माण व्यवसायीमार्फत मात्रै हुने उनको भनाइ छ । निर्माण व्यवसायीको क्षमता विकास गर्नतिर ध्यान दिन आवश्यक रहेको पनि उनले बताए ।

उनले सडक बोर्डमार्फत काम गर्नको लागी धेरै नै माग आउने गरेको बताए । तर बजेट धेरै कम भएकोले मागअनुसार काम गर्न समस्या रहेको उनको भनाइ छ । उनले संघीयताको मर्म नबुझ्दा सडक मर्मतका काममा समस्या देखिएको पनि बताए। स्थानीय तह र प्रदेशले मर्मत गर्ने सडकलाई पनि संघिय सरकारलाई देखाएर काम नहुने गरेको पाईएको उहाँले जानकारी दिए ।