काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विमानस्थलको सेवा तत्काल सुधार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई कडा निर्देशन दिएका छन् ।
क्यानको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले यात्रुले हरेक दिन विमानस्थलमा विभिन्न समस्या भोग्नुपरेको भन्दै सेवा सुधारमा ढिलासुस्ती गर्न नहुने स्पष्ट पारे।
सामान्य यात्रुको हैसियतमा आफूले पटक–पटक काठमाडौँसहित विभिन्न विमानस्थलको यात्रा गरेको अनुभव सुनाउँदै मन्त्री सिन्हाले विमानस्थल प्रवेशदेखि बाहिर निस्किँदासम्म यात्रुले सास्ती खेप्नुपरेको बताए । उनका अनुसार विमानस्थलमा भएका सुधारहरू देखावटी र कस्मेटिक मात्र सीमित भएका छन्, जसले यात्रुको अनुभूति परिवर्तन गर्न सकेको छैन । उनले कर्मचारीहरूलाई दुई महिनाभित्रै सेवा सुधार गरेर देखाउन निर्देशन दिए ।
चुनावी सरकारको मन्त्री भएकाले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले उपलब्ध समयमै ठोस काम गरेर देखाउनुपर्ने बताए । साना–साना सुधारले पनि ठूलो उपलब्धि हासिल गर्न सकिने भन्दै उनले कुनै बहानाबाजी नगरी काम थाल्न आग्रह गर्नुभयो । दुई महिनाको समय सुधारका लागि पर्याप्त भएको उनको भनाइ थियो ।
मन्त्री सिन्हाले क्यानको लेखा प्रणालीप्रति पनि असन्तुष्टि व्यक्त गरे। क्यानको सम्पत्ति र खर्चको स्पष्ट अभिलेख आफूले पाउन नसकेको भन्दै लेखा प्रणाली तत्काल सुदृढ गर्न निर्देशन दिए । लेखा प्रणाली कमजोर हुँदा गरिएका कामसमेत ओझेलमा पर्ने उनको टिप्पणी थियो ।
पोखरा र भैरहवा विमानस्थल सञ्चालनका सन्दर्भमा क्यानले ठोस कार्ययोजना ल्याउन नसकेकोप्रति पनि उनले असन्तुष्टि जनाए। पोखरा विमानस्थलमा हिमालयन एयरलाइन्सको एउटा विमान अवतरण गर्दा ताली बजाउने मात्र भएको उल्लेख गर्दै मन्त्री सिन्हाले त्यसले खुशीभन्दा दुःख लाग्ने अवस्था सिर्जना गरेको बताए ।काठमाडौँ बाहेक अन्य विमानस्थलसँग आन्तरिक तथा अन्तर्राष्ट्रिय अन्तरआवद्धता कसरी बढाउने भन्ने विषयमा ठोस पहल नदेखिएको उनको भनाइ थियो ।
भद्रपुर, चन्द्रगढी लगायतका विमानस्थलबाट भारतसहितका मुलुकबाट पर्यटक कसरी ल्याउने भन्नेमा शून्य अग्रसरता देखिएको भन्दै मन्त्री सिन्हाले यसतर्फ गम्भीर ध्यान दिन निर्देशन दिए । नेपालगञ्ज र विराटनगरका विमानस्थल उद्घाटनको तयारी भइरहेको सुनेको उल्लेख गर्दै उहाँले ती विमानस्थलले लगानी उठाउने वातावरण छ कि छैन भन्ने प्रश्न पनि उठाए ।
भौगोलिक अवस्थाका कारण नेपालमा विमान यात्रा विलासिता नभई अनिवार्यता भएको उल्लेख गर्दै मन्त्री सिन्हाले विमानस्थल सेवाको गुणात्मक सुधारमा क्यानले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्