जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भइ अर्थमन्त्री स्वदेश फिर्ता


काठमाडौँ । तुर्कीएमा भैरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा करिब एक दर्जन कार्यक्रमहरुमा सहभागी भइ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।

उनले ४४ ओटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्त सम्बन्धि सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए ।

त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरुको गठवन्धन’मा नेपाललाई १०५ औं (नयाँ) सदस्यका रूपमा सामेल गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ बारे नीतिगत अवधारणा छलफलका लागि पेश गरेको उनको सचिवालयले जनाएको छ ।

विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जि-२० समूहको अध्यक्षता गर्नलागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिवद्धता प्राप्त भएको मअर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै सम्मेलनमा नेपालले उठाएका विषयमा सहयोग लिने हेतुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पाँचजना प्रभावशाली जलवायु दूतहरूको छलफलसमेत भएको छ ।

बेलायतकी रेचेल काइट, अष्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर र राष्ट्र संघीय महासचिवका दुत सेल्विन हार्टसँग छलफल भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ ।

हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमका बारेमा अर्थमन्त्री वाग्लेले छलफल गर्नुका साथै जेनेभास्थित विश्व मौसम–विज्ञान सङ्गठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोष सम्बन्धि कार्यक्रमलाई विशेष सम्वोधन गरेका थिए ।

जलवायु र अर्थशास्त्रमा ख्याति कमाएका प्रा. योहान रक्स्त्रम र प्रा. निकलस स्टर्नसँग समेत अर्थमन्त्री वाग्लेले भेट गरेका थिए ।