काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारले शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनु मुख्य दायित्व रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल’ विषयक कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले जेन–जी आन्दोलनको क्रममा अपराधिक गतिविधि गर्नेहरूलाई तत्काल कारबाही गर्न सरकारलाई आग्रह गरे।
उनले विगतका त्रुटीहरुलाई सच्याएर अघि बढ्न आवश्यक रहेको पनि उल्लेख गर्दै, देशका विविध सम्पदाको उचित परिचालन गरी मुलुकलाई समृद्ध बनाउने लक्ष्यमा सरकारले संकल्पका साथ अघि बढ्नुपर्ने जोड दिए ।
नेपालले भने, “वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनु हो। त्यस्तै, केही संरचनाहरुमा सुधार आवश्यक परेमा त्यसमा समय दिनुपर्छ। मन्त्रीहरु पनि यसमा संलग्न छन्। संरचनामा रहेका त्रुटी सुधार गर्न, राम्रा कामहरु जोगाउन र कमजोरी सच्याउन आवश्यक छ। नेपाल जस्तो देश वन, कृषि, सांस्कृतिक, खनिज र जल सम्पदामा सम्पन्न छ। यसका सम्पदाहरुको सदुपयोग गरी लगानी र अनुसन्धान गर्न आवश्यक छ। विद्युत उत्पादन जस्ता क्षेत्रमा कमी पूरा गर्नु जरुरी छ। विगतका कमजोरी सच्याउँदै नयाँ संकल्पसहित अघि बढ्नुपर्छ।”
उनले उद्योगी र व्यवसायीहरुलाई पूर्वप्रधानमन्त्री, विज्ञ, पूर्वमन्त्री तथा अन्य अनुभवी व्यक्तिहरुसँग छलफल गरी योजना बनाउन पहल गर्न समेत आग्रह गरे । सहसंयोजक नेपालले देशको विकासका लागि जिम्मेवार सबै पक्ष योजना अनुसार अघि बढ्नेतर्फ सक्रिय हुनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्