विदेशी यात्रुलाई प्रिमियम सेवा सुविधा सुनिश्चित गर्न व्यवसायीहरूको माग


काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिजनेस क्लासको टिकट तिरेका विदेशी यात्रुहरूलाई सो अनुसारको सेवा सुविधा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् । ढकालले प्रिमियम तिरेका यात्रुले आवश्यक सुविधा नपाउँदा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाने र यसले पर्यटन प्रवद्र्धनमा असर पार्ने बताए।

बिहीवार आयोजित विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा अध्यक्ष ढकालले भने, “कसैले बिजनेस क्लासको टिकट किनेको छ र प्रिमियम तिरेको छ भने उसले अध्यागमनमा त्यही सुविधा खोज्छ। तर विदेशीहरूले अझै प्रिमियम अनुसारको सेवा पाएका छैनन्। यसले बाहिर नकारात्मक सन्देश जान्छ र पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष असर पार्छ।”

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विदेशी पाहुनाको आगमन, बसाई र गतिविधि सम्बन्धी सूचनाको आधुनिक प्रविधिमार्फत अभिलेखीकरण सुरु भएकोमा सन्तोष व्यक्त गरे। उनका अनुसार, यसले नेपाललाई सुरक्षित र सहज गन्तव्यको रूपमा प्रस्तुत गर्न मद्दत गर्दछ। सन् २०२५ मा नेपालमा ११ लाख ६० हजार पर्यटकको आगमन भएको थियो। पूर्वाधार सुधार र सेवा सुविधासँगै यो संख्या २५ लाखदेखि ५० लाखसम्म पुग्न सक्ने जोशीको अनुमान छ।

उनले थपे “पर्यटकको नाममा अपराधिक मानसिकता लिएर आउने व्यक्तिहरूको निगरानी गर्न सकियो भने यस्ता गतिविधिहरू नियन्त्रण गर्न सजिलो हुनेछ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पनि सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउनुपर्नेमा जोड दिए ।उनका अनुसार सडक यातायात सुरक्षित भए आन्तरिक पर्यटनसमेत बढ्नेछ।

उपाध्यक्ष सिटौलाले भने, “सार्वजनिक यातायात क्षेत्रलाई सुधार गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटनमा वृद्धि हुनेछ। यात्रुले टिकट काटेर यात्रा गरेमा सुरक्षा सुनिश्चित हुन्छ र यातायातका धेरै समस्या समाधान हुन्छ। टिकट प्रणालीलाई कडाइका साथ लागू गर्नु आवश्यक छ।”