अमेरिकी राजदूत थम्पसनसँग प्रधानमन्त्री कार्कीको शिष्टाचार भेट


काठमाडाैँ । नेपालमा अमेरिकी राजदूत डिन आर. थम्पसनले प्रधानमन्त्री सुशीलाः कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुवै पक्षबिच द्विपक्षीय हित, सहयोग तथा समसामयिक विषयमा छलफल भएको बताइएको छ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि प्रदान गर्दै आएको विकास सहयोग र समर्थनप्रति धन्यवाद व्यक्त गरिन् ।

उनले आगामी दिनमा पनि नेपालको लोकतान्त्रिक प्रक्रिया, शान्ति र स्थिरताका लागि अमेरिकी सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन्। विशेषगरी आगामी फागुनमा हुने निर्वाचन स्वतन्त्र र निष्पक्ष गर्न अमेरिकाबाट सहयोगको अपेक्षा व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीको नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन सञ्चालन गर्ने तयारी गरिरहेको छ। अमेरिकासँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपालको विकास र लोकतन्त्र मजबुत बनाउने दिशामा यो भेटले महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।