काठमाडौँ । तत्कालीन काठमाडौँ नगर पञ्चायतका २०३० सालका प्रधानपञ्च रिनेन्द्रमान सिंहको हिजो निधन भएको छ। लामो समयदेखि पक्षाघातका कारण घरमै उपचाररत रहेका सिंहको हृदयाघातका कारण निधन भएको हो।
उनको पार्थिव शरीरलाई आज टेकुस्थित जम्बुद्वीपमा अन्त्येष्टि गरिएको छ। परिवार, आफन्त तथा शुभेच्छुकहरूको उपस्थितिमा धार्मिक विधिअनुसार अन्तिम संस्कार सम्पन्न गरिएको हो।
वि.सं. २००२ साल श्रावणमा जन्मिनुभएका सिंह २०२८ सालमा काठमाडौँको तत्कालीन वडा नम्बर ८ (हालको वडा नम्बर २२) बाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए। त्यस समय काठमाडौँ नगर पञ्चायतमा २९ वटा वडा रहेको र वडाबाट निर्वाचित अध्यक्षहरूमध्येबाट प्रधानपञ्च चयन गर्ने व्यवस्था रहेको थियो।
वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार यही प्रणालीअनुसार सिंह २०३० सालदेखि दुई वर्षका लागि काठमाडौँ नगर पञ्चायतको प्रधानपञ्च चयन भएका थिए। नगर पञ्चायतको नेतृत्व सम्हाल्ने क्रममा उहाँले स्थानीय विकास र नगर व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
स्वर्गीय सिंहका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन्। उनको निधनले काठमाडौँको स्थानीय शासन इतिहासमा योगदान पुर्याएका एक अनुभवी व्यक्तित्व गुमेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्