अमेरिकाका दुई एनआरएनएबिच एकता


नेभेडा (अमेरिका)– संयुक्त राज्य अमेरिकामा आधिकारीक रूपमा दर्ता भई सञ्चालनमा रहेका दुई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाबिच एकता भएको छ ।

शनिबार नेभेडा राज्यको लस भेगास शहरमा सम्पन्न विशेष कार्यक्रममा दुई समूहबिच एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । न्युयोर्क राज्यमा दर्ता भई सञ्चालनमा रहेको सूर्य लम्साल (साल) नेतृत्वमा रहेको एनआरएनए र टेनेसी राज्यमा दर्ता भई सञ्चालनमा रहेको सतेन्द्र साह नेतृत्वको एनआरएनएबिच औपचारिक सहमति भएको हो ।

सहमतिअनुसार अब उपरान्त टेनेसी राज्यमा दर्ता भएको एनआरएनए एनसीसी अमेरिकामार्फत नै संस्थागत गतिविधिहरु अघि बढाइनेछ ।

सोही संस्थाको ईआईएन नम्बर प्रयोग गरिनेछ भने यस सम्झौतासँगै न्युयोर्कमा दर्ता भएको एनआरएनए खारेज भएको छ । सम्झौता पत्रमा सतेन्द्र साह र लम्साल नेतृत्वको एनआरएनएका तर्फबाट महासचिव तथा कार्यवाहक अध्यक्ष यदु बञ्जारा हस्ताक्षर गरेका छन् ।

सतेन्द्र साह नेतृत्वको एनआरएनएको ९औँ कार्यसमिति बैठक तथा पहिलो फिजिकल बैठकको अवसर पारेर उक्त एकता सम्पन्न गरिएको हो।

हस्ताक्षरपछि बञ्जाराले जुट्नुभन्दा फुट्नु सजिलो हुने भए पनि संस्थागत हकहितका लागि सहमतिमा सम्झौता गरिएको तथा यो आवश्यक र ऐतिहासिक भएको बताए ।

उनले भने, “फुट्नु सजिलो हुन्छ, तर जुट्नु कठिन । तर पनि हामीले सहमतिका आधारमा एकता सम्पन्न गरेका छौँ । जब लक्ष्य एउटै हुन्छ भने दुई समूहमा विभाजित भएर बस्नुको अर्थ हुँदैन । एक ठाउँमा उभिएर अघि बढ्दा हाम्रो आवाज बलियो हुन्छ, हाम्रा मुद्दा स्थापित हुन्छन् ।”

यसैगरी साहले गैरआवासीय नेपालीका अधिकार र मुद्दा स्थापित गर्न एकताको विकल्प नभएको स्पष्ट पारे ।

उनले भने, “गैरआवासीय नेपालीका साझा मुद्दा र अधिकार प्राप्तिका लागि हामी एकताबद्ध हुनु आवश्यक थियो । आगामी दिनमा पनि अमेरिकामा रहेका छुट्टाछुट्टै संघसंस्थालाई एक सूत्रमा बाँध्ने मेरो हरसम्भव प्रयास रहनेछ । सारा नेपालीलाई एउटै साझा मञ्चमा जोड्नु नै हाम्रो लक्ष्य हो ।”

सोही अवसरमा महासचिव मोहन न्यौपानेले बाँकी सबै पक्ष तथा समूहहरूलाई पनि संवाद र वार्तामार्फत एकतामा आउन आह्वान गरे ।

कार्यक्रममा विभिन्न च्याप्टरका प्रतिनिधिहरु, मानार्थ सदस्य, चिफ प्याट्रोन, प्याट्रोनलगायतको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित प्रतिनिधिहरूले यसलाई ऐतिहासिक एकता भन्दै स्वागत गरेका छन् । उनीहरुले अब पछि हट्ने ठाउँ नभएको र अझ सशक्त, संगठित र प्रभावकारी रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।