काठमाडौँ । नेकपा (एमाले) का नेता सूर्य थापाले ‘वैकल्पिक विकास वित्त परिचालन कोष’ सम्बन्धी व्यवस्थालाई कमजोर पारिएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले तत्कालीन प्रतिनिधिसभाको अर्थ समितिले लामो छलफल, परामर्श र सर्वसम्मत सहमतिका आधारमा अघि बढाएको वैकल्पिक विकास वित्त परिचालन कोष सम्बन्धी विधेयकको मूल मर्म नै सरकारबाट कमजोर बनाइएको आरोप लगाए ।
थापाका अनुसार विकास निर्माण, पूर्वाधार विस्तार तथा दीर्घकालीन लगानीका लागि महत्वपूर्ण मानिएको कोषको प्रभावकारी संरचना तयार गर्न तत्कालीन अर्थ समितिले महत्वपूर्ण भूमिका खेलेको थियो । तर तत्कालीन अर्थ मन्त्रालयले समितिले समावेश गरेका कतिपय महत्वपूर्ण प्रावधानहरू हटाएर विधेयकलाई प्रभावहीन बनाएको उनको दाबी छ ।
“अर्थ समितिले निकै मिहिनेतका साथ सर्वसम्मत रूपमा पारित गरेको वैकल्पिक विकास वित्त परिचालन कोष सम्बन्धी व्यवस्थाहरू पछि काटछाँट गरेर अर्थहीन बनाइएका छन्,” थापाले उल्लेख गरेका छन् ।
उनले देशको आर्थिक रूपान्तरण र ठुला विकास परियोजनामा आवश्यक दीर्घकालीन स्रोत जुटाउन वैकल्पिक विकास वित्त परिचालन कोष प्रभावकारी माध्यम बन्न सक्ने बताए । यस्तो रणनीतिक महत्वको संरचनालाई बलियो बनाउनुपर्ने बेलामा यसको क्षमता कमजोर पारिनु चिन्ताजनक भएको उनको भनाइ छ । यद्यपी कुनकुन विषयमा कमजोर बनाइयो भन्ने विषयमा भने थापाले केही खुलाएका छैनन् ।
थापा अघिल्लो प्रतिनिधि सभामाको कार्यकालमा अर्थ समितिका सदस्य थिए ।
थापाले अर्थमन्त्री वाग्लेको कार्यशैली, आर्थिक नीति र हालका सार्वजनिक अभिव्यक्तिमाथि समेत प्रश्न उठाउँदै देशको आर्थिक सुधारका लागि ठोस परिणाममुखी कदम आवश्यक रहेको बताएका छन् । उनले राष्ट्रिय हित, आर्थिक स्वाभिमान र विकास वित्त व्यवस्थापनमा सरकार थप जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्