काठमाडाैँ । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गरी जिल्लामा सुरक्षा सतर्कता बढाइएको क्रममा स्याङ्जामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको विशेष सर्च अपरेसन टोलीले साेमबार विरूवा गाउँपालिका–३, सिउडी क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा चार नाल भरुवा बन्दुक र सोसँग सम्बन्धित सामग्री बरामद गरेको हो।
सो क्रममा तीन जना व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विरूवा गाउँपालिका–३ सिउडी निवासी ७७ वर्षीय तिल बहादुर पुलामीको घरबाट दुई थान एकनाले भरुवा बन्दुक, २२३ ग्राम बारुद, ३१ थान छर्रा, छर्रा बनाउन प्रयोग हुने एक थान शिशा तथा भरुवा बन्दुकमा प्रयोग हुने एक थान फलामको घोडा बरामद गरिएको छ।
यसैगरी सोही स्थानका ६५ वर्षीय मिन बहादुर पुलामीको घरबाट एक थान एकनाले भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने १७ थान छर्रा, ५० ग्राम बारुद तथा दुई थान केप फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, विरूवा गाउँपालिका–३ सिउडीकै ६५ वर्षीय रण बहादुर थापाको घरबाट एक थान एकनाले भरुवा बन्दुक, २३ थान छर्रा, ३७० ग्राम बारुद र पाँच थान केप बरामद गरिएको छ।
निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न नदिन जिल्लाभर निगरानी र खोजतलास कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ। यस किसिमका अवैध हातहतियार राख्ने तथा प्रयोग गर्ने कार्यविरुद्ध कडाइका साथ कारबाही गरिने पनि प्रहरीले स्पष्ट पारेको छ।


प्रतिक्रिया दिनुहोस्