खाद्य स्वच्छतामा लापरबाही: ढुसी लागेको मःमदेखि म्याद गुज्रेका खाद्य पदार्थ नष्ट, दर्जनौँ व्यवसायलाई कारबाही


काठमाडौँ । काठमाडाैँ उपत्यकाभित्र खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दर्जनौँ खाद्य उद्योग तथा व्यवसायमाथि निरीक्षण अनुगमन गरी कारबाही गरेको छ।

विभागले गत माघ ११, १२ र १३ गते काठमाडौँ महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका तथा मोबाइल खाद्य प्रयोगशाला भ्यानको प्रयोग गरी उपत्यकाभित्र खाद्य पदार्थ उत्पादन, भण्डारण र विक्री वितरण हुने स्थानहरूमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा सरसफाइको अवस्था कमजोर, खाद्य पदार्थ अव्यवस्थित रूपमा भण्डारण गरिएको, पेष्ट कन्ट्राेलको व्यवस्था नगरेको, उपभोग्य मिति सकिएका सामग्री विक्रीका लागि राखिएको तथा लेबलिङमा गम्भीर त्रुटि भेटिएको विभागले जनाएको छ।

कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा गरिएको अनुगमनमा नयाँ एभरेष्ट मःम सेन्टर, जम्बुडाँडा कुटानी पिसानी मिल, कृष्ण एण्ड कृतिशा डेरी दही पसल, न्यु मनिका चाट हाउस र मेलम्ची किराना स्टोरमा सरसफाइ तथा भण्डारणमा व्यापक कमजोरी भेटिएको थियो।

ती व्यवसायहरूमा ढुसी लागेको करिब ५० डल्ला मःम, उपभोग्य मिति समाप्त भएका साबु दाना, चिया पत्ती, जाम, पेय पदार्थ, खाने तेललगायत सामग्री फेला परेपछि नष्ट गरिएको विभागले जनाएको छ।

साथै, खाद्य पदार्थलाई पत्रिकाले छोप्ने, उत्पादन मिति नराखी मिठाई भण्डारण गर्ने र पटक–पटक तताइएको तेल प्रयोग गर्ने जस्ता अभ्यास रोक्न निर्देशन दिइएको छ।

यसैगरी, भक्तपुरको कौशलटारस्थित चाहना पाउरोटी उद्योग प्रा.लि.मा लेबलिङ सम्बन्धी उजुरीपछि गरिएको निरीक्षणमा ‘उत्सव’ ब्रान्डको मिल्क ब्रेडमा उत्पादन मिति र उपभोग्य मिति गलत रूपमा प्रिन्ट भएको पुष्टि भएको थियो।

उद्योगले गल्ती स्वीकार गरेपछि ६२४ प्याकेट ब्रेड तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ भने ब्रेडको नमूना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको छ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा माघ १२ गते गरिएको अर्को अनुगमनमा महाराजगञ्ज, पानीपोखरी र शिवपुरी माध्यमिक विद्यालयमा सञ्चालित चमेनागृहसमेत रहेका खाद्य व्यवसायहरूमा सरसफाइ, अभिलेख व्यवस्थापन र पेष्ट कन्ट्राेल सन्तोषजनक नरहेको पाइएको छ। केही स्थानमा किचेनको टायल फुटेको, तयारी खाद्य वस्तुमा पूर्ण लेबल विवरण नराखिएको तथा फोहोर व्यवस्थापन कमजोर रहेको भेटिएपछि सुधारका लागि निर्देशन दिइएको विभागले जनाएको छ।

गत माघ १३ गते मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत कागेश्वरी मनोहरा–७ क्षेत्रमा रहेका पानी उद्योगहरूमा गरिएको अनुगमनमा प्रशोधित पिउने पानी उद्योगको सरसफाइ अवस्था सन्तोषजनक नरहेको, कामदारको व्यक्तिगत सरसफाइ कमजोर रहेको तथा कुच्चिएको र लेउ लागेको जार प्रयोग गरिएको पाइएको थियो।

मनोहरा फुड एण्ड बेभरेज, ओशियन ड्रिंकिङ वाटर इन्डस्ट्रिज, भद्रकाली पानी उद्योग र शिद्धकाली आक्वा पानी उद्योगमा मापदण्ड विपरीतका जार नष्ट गरिएको छ भने पानीको नमूना प्रयोगशाला परीक्षणका लागि सङ्कलन गरिएको छ।

विभागले सबै व्यवसायलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार सरसफाइ कायम गर्न, विधि अवलम्बन गर्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ विक्री वितरण नगर्न र प्रभावकारी पेष्ट कन्ट्राेल व्यवस्था मिलाउन निर्देशन दिएको छ। प्रवक्ता डा. बालकुमारी शर्माले खाद्य उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने कुनै पनि गतिविधि सह्य नहुने भन्दै अनुगमनलाई निरन्तरता दिइने स्पष्ट पारेकी छन्।