काठमाडौँ ।अमेरिकी न्याय विभागले जेफ्री एपस्टिनका ३० लाख भन्दा बढी पृष्ठका नयाँ फाइलहरू सार्वजनिक गर्ने घोषणा गरेको छ । यो अमेरिकी कंग्रेसले सबै सम्बन्धित फाइलहरू सार्वजनिक गर्न तोकेको समयसीमा भन्दा एक महिना ढिलो हो ।
सन् २०२४ को राष्ट्रपति निर्वाचन अभियानका क्रममा डोनाल्ड ट्रम्पले निर्वाचित भएमा एपस्टिन प्रकरणसँग सम्बन्धित ग्राहक सूची लगायतका कागजातहरू सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । १८ नोभेम्बर २०२५ मा अमेरिकी कंग्रेसले भारी बहुमतका साथ एपस्टिन प्रकरणसँग सम्बन्धित फाइलहरू १९ डिसेम्बरसम्ममा सार्वजनिक गर्नुपर्ने विधेयक पारित गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलिपल्टै उक्त विधेयकमा हस्ताक्षर गर्नुभएको थियो । १९ डिसेम्बरदेखि विभागले कागजातहरू चरणवद्ध रूपमा सार्वजनिक गर्न थालेको थियो । तर ठूलो अंश सम्पादन गरिएको र केही तस्बिरहरू वेबसाइटबाट हटाइएकाले आलोचना भएको थियो ।
कागजातको पहिलो समूहमा पूर्व राष्ट्रपति बिल क्लिन्टनको धेरै सन्दर्भहरू पाइएपछि विभागले चयनात्मक रूपमा फाइलहरू सार्वजनिक गरेको आरोप लागेको थियो । २३ डिसेम्बर २०२५ मा विभागले ट्रम्पसँग सम्बन्धित करिव ३० हजार पृष्ठका नयाँ कागजातहरू सार्वजनिक गरेको थियो ।
जसमध्ये केही सामग्रीलाई विभागले पछि असत्य भएको बताएको थियो । जनवरीको शुरुमा विभागले हालसम्म सार्वजनिक गरिएका फाइलहरू कुल कागजातको १ प्रतिशतभन्दा कम रहेको र २० लाखभन्दा बढी कागजातहरू अझै समीक्षाको क्रममा रहेको जानकारी दिएको छ । न्युज एजेन्सी नेपाल


प्रतिक्रिया दिनुहोस्