कुल विदेशी विनिमय सञ्चिती ३२ खर्ब रूपैयाँ नाघ्यो


काठमाडौँ । नेपालमा कुल विदेशी विनिमय सञ्चिती २०८२ पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड रूपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ पुस मसान्तमा २२ अर्ब ४७ करोड पुगेको छ । २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०८२ पुस मसान्तमा २८ खर्ब ८४ अर्ब ८ करोड रूपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रूपैयाँ रहेकोमा २०८२ पुस मसान्तमा १९.४ प्रतिशतले वृद्धि भएको हो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रूपैयाँ रहेकोमा २०८२ पुस मसान्तमा ३६.२ प्रतिशतले वद्धि भई ३ खर्ब ५८ अर्ब ३७ करोड रूपैयाँ कायम भएको छ ।

२०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५३.१ प्रतिशत, १५०.७ प्रतिशत र ४०.५ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।