नेपाल–भारत स्टार्टअप संवादः सीमापार नवप्रवर्तन र द्विपक्षीय सहकार्य सुदृढ हुँदै


काठमाडौँ । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपाल–भारत स्टार्टअप संवाद आयोजना गर्दै सीमापार नवप्रवर्तन र द्विपक्षीय स्टार्टअप सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नीति–निर्माताहरू, नवप्रवर्तन क्षेत्रका अगुवाहरू, सञ्चारकर्मी तथा उदाउँदा स्टार्टअप संस्थापकहरूको सहभागितामा सम्पन्न संवादलाई निक्कीले नेपाल–भारत उद्यमशील सहकार्यको महत्वपूर्ण कोसेढुंगा भएको जनाएको छ।

संवादमा इन्डिया–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (इन्स्पान) अन्तर्गतको पहिलो समूहले भारतमा हासिल गरेको अनुभव र उपलब्धिलाई विशेष रूपमा सम्मान गरिएको थियो।

उक्त पहल आइआइटी मद्रास प्रबद्र्धक (आइआइटीएम) को सहकार्य तथा भारत सरकारको परराष्ट्र मन्त्रालयको सहयोगमा कार्यान्वयन गरिएको हो।

कार्यक्रमअन्तर्गत २४ नेपाली स्टार्टअपहरूले आइआइटी मद्रासको नवप्रवर्तन इकोसिस्टममा आठ हप्ते सघन आवासीय कार्यक्रममा सहभागिता जनाउँदै प्राविधिक मार्गदर्शन, संरक्षक सहयोग तथा बजार पहुँचका अवसर प्राप्त गरेका थिए।

यस समूहको उल्लेखनीय उपलब्धिका रूपमा नौ वटा नेपाली स्टार्टअपहरूले भारतका अग्रणी इनक्युबेशन प्लेटफर्महरूबाट लगानी तथा इनक्युबेशन प्रस्ताव प्राप्त गरेका छन्।

यसले नेपालको नवप्रवर्तन इकोसिस्टममा रहेको सम्भावना र क्षेत्रीय सहकार्यको प्रभावकारितालाई स्पष्ट रूपमा उजागर गरेको निक्कीको भनाइ छ।

कार्यक्रमको स्वागत मन्तव्यमा निक्कीका अध्यक्ष सुनील केसीले नवप्रवर्तन र उद्यमशीलतालाई नेपाल–भारत आर्थिक सहकार्यको केन्द्रमा राख्ने प्रतिबद्धता दोहोर्‍याए।

सीमापार स्टार्टअप साझेदारीले क्षेत्रीय प्रतिस्पर्धात्मकता वृद्धि गर्नुका साथै युवामैत्री आर्थिक वृद्धिलाई गति दिने उनले उल्लेख गरे।

निक्कीको नवप्रवर्तन क्षेत्रमा बढ्दो भूमिकाबारे प्रकाश पार्दै संघका उपाध्यक्ष कुनाल कायलले नेपाल–भारत आर्थिक सम्बन्धको आगामी चरण निजी क्षेत्रको नेतृत्वमा र नवप्रवर्तनद्वारा प्रेरित हुनुपर्ने धारणा व्यक्त गरे।

उनले स्टार्टअप इनोभेसन सेन्टर स्थापना प्रक्रियालाई अघि बढाइरहेको जानकारी दिँदै यसले सम्पूर्ण इकोसिस्टमका सरोकारवालाहरूलाई जोड्ने केन्द्रबिन्दुको भूमिका खेल्ने बताए।

अतिथि मन्तव्यमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ताले स्टार्टअपहरूलाई विश्वस्तरीय प्रतिस्पर्धी उद्यममा रूपान्तरण गर्न संस्थागत सहयोग, नीतिगत समन्वय र क्षमता विकास अपरिहार्य रहेको बताए।

संवादअन्तर्गत आयोजित कोहोर्ट रिफ्लेक्सन सत्रलाई कार्यक्रमको मुख्य आकर्षणका रूपमा लिइएको थियो। सहभागीहरूले आइआइटी मद्रासको आवासीय कार्यक्रमका अनुभव साटासाटा गर्दै अत्याधुनिक प्रयोगशालामा पहुँच, लगानीकर्तासँगको अन्तरक्रिया, उत्पादन परिमार्जन सहयोग तथा विश्वस्तरीय अभ्यासहरूसँग परिचित हुने अवसरले आफूहरूलाई बजार–तयार नवप्रवर्तनतर्फ अघि बढ्न सहयोग पुगेको बताएका थिए।

सहभागीहरूको प्रशंसा गर्दै निक्कीका उपाध्यक्ष गौरव तयालले सहभागी उद्यमीहरूलाई नेपाल र भारतबीचको नवप्रवर्तन सम्बन्ध सुदृढ गर्ने “द्विपक्षीय साझेदारीका पुल” का रूपमा व्याख्या गरे।

निक्कीले नेपाल–भारत स्टार्टअप संवादलाई उद्योग, शैक्षिक संस्था, सरकार र निजी क्षेत्रबीच दीगो सहकार्य निर्माण गर्ने निरन्तर प्रयासको एक महत्वपूर्ण चरणका रूपमा लिएको छ। नीतिगत वकालत, सीमापार साझेदारी तथा पूँजी र प्रविधिमा पहुँच विस्तारमार्फत स्टार्टअपहरूलाई समर्थन गर्ने उद्देश्य यस पहलले बोकेको निक्कीको भनाइ छ।

भारतीय नवप्रवर्तन प्लेटफर्महरूसँग नेपाली उद्यमीहरूलाई जोड्ने यस पहलले ज्ञान हस्तान्तरणलाई तीव्र बनाउने, क्षेत्रीय बजार एकीकरण प्रवद्र्धन गर्ने र नेपाललाई प्रविधिमा आधारित उद्यमका लागि उदाउँदो केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको पनि निक्कीले जनाएको छ।

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) नेपाल र भारतबिच व्यापार, लगानी तथा औद्योगिक सहकार्य सुदृढ गर्न स्थापित अग्रणी द्विपक्षीय संस्था हो। स्टार्टअप, नवप्रवर्तन तथा निजी इक्विटीसम्बन्धी पहलमार्फत संघले नीतिगत सहकार्य, पूँजी प्रवाह र उद्यमशीलतालाई जोड्दै क्षेत्रीय आर्थिक वृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।