काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार गत माघ २२ गते बिहान करिब ४:३० बजेको समयमा बुढानिलकण्ठ नगरपालिका–१ तौलुङ क्षेत्रबाट ४५ वर्षीय प्रबिन किसनलाई नियन्त्रणमा लिइएको हो।
उदयपुर घर भई हाल काठमाडौँको कोटेश्वर बसोबास गर्दै आएका किसनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा रातको समयमा शङ्कास्पद अवस्थामा हिँडिरहेको देखेपछि रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा किसनको साथबाट श्रोत नखुलेको नगद रकम १८ लाख ५० हजार रुपैयाँ फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद रकमसहित नियन्त्रणमा लिइएका किसनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय हरिहरभवन, ललितपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्